२५ माघ, गुल्मी । मदन भण्डारी राजमार्गअन्तर्गत पर्ने रिडी–बल्कोट सडक एक महिनाका लागि बन्द गरिएको छ। रुरुक्षेत्र गाउँपालिका–१ साँखराभिर क्षेत्रमा चट्टान फोरेर सडक चौडा बनाउने काम सुरु भएकाले फागुन २० गतेसम्म यातायात सञ्चालन बन्द रहनेछ।
मदन भण्डारी राजमार्ग योजना कार्यालय गुल्मीले सार्वजनिक सूचना जारी गर्दै वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ। निमित्त योजना प्रमुख हुमनाथ पौडेलका अनुसार, निर्माण कार्यका क्रममा जोखिम हुनसक्ने भएकाले वैकल्पिक सडक प्रयोग गर्न अनुरोध गरिएको छ।
वैकल्पिक मार्गहरू:
- सातमुरे – श्रृङ्गा – बलेटक्सार – रिडी
- सातमुरे – सिजी मार्ग – पाल्पा हार्थोक
- सातमुरे – ठाडो खोला – रिडी
निर्माण कार्य सहज बनाउन तथा यात्रुहरूलाई वैकल्पिक मार्ग अपनाउन गुल्मी र अर्घाखाँचीका स्थानीय निकाय, प्रहरी प्रशासन, उद्योग वाणिज्य संघ, बस व्यवसायी समिति लगायत सरोकारवालाहरूसँग समन्वय गरिएको छ।