काठमाडौं। ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले नेपालमा ऊर्जा क्षेत्रको विकासलाई तीव्रता दिँदै आगामी १० वर्षमा प्रतिव्यक्ति ऊर्जा खपत १ हजार ५ सय युनिट पुर्याउने सरकारको महत्वाकांक्षी लक्ष्य सार्वजनिक गरेका छन्। मंगलबार काठमाडौंमा आयोजित ऊर्जा ट्रान्समिनस तथा न्यून कार्बन उत्सर्जन इकोनोमिक सम्मेलनमा उनले जलविद्युतको उत्पादन र प्रशारणलाई व्यवस्थित बनाउन विभिन्न समस्या समाधान गर्ने प्रतिबद्धता जनाए।
मन्त्री खड्काले ऊर्जा क्षेत्रको विकास मुलुकको आवश्यकता परिपूर्ति गर्ने पहिलो प्राथमिकता भएको उल्लेख गर्दै वातावरणीय प्रभावलाई न्यूनीकरण गर्ने उपायहरूसँगै दीर्घकालीन योजनामा सरकार अग्रसर रहेको बताए। शून्य कार्बन उत्सर्जनको लक्ष्य सन् २०४५ सम्ममा हासिल गर्न ऊर्जा, जलस्रोत, र सिंचाई क्षेत्रले महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे।
जलविद्युत उत्पादनका लागि लगानीकर्ताहरूलाई प्रोत्साहित गर्न नीतिगत सुधारमार्फत आवश्यक वातावरण तयार पारिने उनले बताए। १० वर्षभित्र २८ हजार ५ सय मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य प्राप्तिका लागि सरकार, निजी क्षेत्र, र स्थानीय निकायबीच सहकार्य आवश्यक रहेको उनले जोड दिए।
जलविद्युत प्रशारण लाइनमा देखिएका चुनौती समाधान गर्दै ऊर्जा खपत र उत्पादनको समन्वयलाई प्राथमिकतामा राखेर काम गरिने पनि मन्त्री खड्काले स्पष्ट पारे। उनले “लगानीकर्ताले जलविद्युत उत्पादनको काममा अवरोध सामना गर्न नपरोस् भन्नेतर्फ सरकार सचेत छ,” भन्दै ऊर्जा क्षेत्रमा लगानीमैत्री वातावरण सिर्जना गर्ने अठोट व्यक्त गरे।
यो पहलले न केवल देशको ऊर्जा खपतमा सुधार ल्याउनेछ, बरु दीर्घकालीन आर्थिक र वातावरणीय दिगोपनाका लागि मार्ग प्रशस्त गर्नेछ।


