कञ्चनपुर: गृहमन्त्री रमेश लेखक र भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले महाकाली नदीमा निर्माणाधीन चारलेनको मोटरेबल पुलको निरीक्षण गरेका छन्। पुल निर्माण ‘भेरियेसन’ का कारण प्रभावित भएपछि मन्त्रीद्वयले स्थलगत अवलोकन गरेका हुन्।
महाकाली नदीको बाढीले गत भदौमा भीमदत्त नगरपालिकातर्फ तीन सय मिटर बाँध भत्काएको थियो। त्यसले पुल र बस्ती दुवैलाई जोखिममा पार्दा ‘गाइडबन्ड’ (बाँध) को डिजाइनी स्वीकृत भए पनि ‘भेरियेसन’ नभएकाले निर्माणकार्य रोकिएको छ।
निरीक्षणपछि गृहमन्त्री लेखकले बस्ती र पुललाई जोखिममुक्त बनाउन तत्काल कदम चाल्न आवश्यक रहेको बताए। उनले भने, “पुलको पारि दोधारा चाँदनी सुक्खा बन्दरगाह निर्माण अन्तिम चरणमा छ। यो पुल सफल नभए सुक्खा बन्दरगाह पनि सफल हुन सक्दैन।” भौतिक पूर्वाधार मन्त्री दाहालले वस्तुस्थिति बुझेपछि समस्याको समाधानमा लाग्ने प्रतिबद्धता जनाए।