म्याग्दी: पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उचित उपयोगबाट मुलुकको प्राकृतिक स्रोतसाधनको आर्थिक विकास सम्भव हुने बताएका छन्।
बेनीमा सुरु भएको आठौँ म्याग्दी महोत्सव एवं प्रदेशस्तरीय कृषि, पर्यटन, औद्योगिक तथा व्यापार मेला-२०८१ को उद्घाटन गर्दै देउवाले जल, जमिन र जंगलको सदुपयोगले रोजगारी र आम्दानी बढाउने अवसर सिर्जना गर्न सकिने धारणा व्यक्त गरे।
देउवाले निजी क्षेत्रको सहभागितासहित लगानीमैत्री वातावरण निर्माण गरी उद्योग व्यवसायलाई प्रवर्द्धन गर्न कांग्रेस प्रतिवद्ध रहेको उल्लेख गरे। साथै, म्याग्दी हुँदै ढोरपाटन जोड्ने सडकलाई मध्यपहाडी लोकमार्गको वैकल्पिक आयोजना बनाउन बजेट व्यवस्था गर्न पहल गर्ने बताए।
देउवाका प्रमुख प्रतिबद्धताहरू:
✅ बेनीको खुलामञ्च खेलमैदानको स्तरोन्नति
✅ बेनी अस्पतालको ५० शय्या भवन निर्माणको पूर्णता
✅ मालढुङ्गा–बेनी सडक विस्तारलाई तीव्रता
✅ बेनीबजार संरक्षणका लागि बजेट सुनिश्चितता
देउवाले औद्योगिक, व्यापारिक, कृषि र पर्यटन क्षेत्रको विकासले मात्र समृद्धि सम्भव हुने उल्लेख गर्दै नीतिगत सुधारमार्फत आर्थिक विकासलाई तीव्रता दिन कांग्रेस प्रतिबद्ध रहेको बताए।