काठमाडौं । नेकपा एकीकृत समाजवादीमा नयाँ कार्यदल गठन भएको छ।
नेकपा (एकीकृत समाजवादी)ले केन्द्रीय सदस्यकाे नाम टुंगो लगाउन तीन सदस्यीय कार्यदल गठन गरेको हो ।
बुधबार बसेको केन्द्रीय कमिटी बैठकले अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल र महासचिव घनश्याम भुसाल रहेको कार्यदल गठन गरेको हो । कार्यदलले केन्द्रीय कमिटी र केन्द्रीय आयोगको संख्या, नाम र मनोनयनबारे गृहकार्य गर्ने प्रचार विभागले जनाएको छ ।
नेकपा एकीकृत समाजवादीमा नयाँ केन्दीय कमिटीको आगामी बैठक साउन १८ गतेका लागि डाकिएको छ । सोही बैठकले टुंगो लगाउने बताइएको छ । पार्टीको महाधिवेशनले २९९ मध्ये ९३ सदस्य मात्रै चयन गरेको थियो । बाँकी रहेको २०६ सदस्य चयन गर्न एकीकृत समाजवादीमा सकस छ ।
आकांक्षी धेरै हुँदा छान्न समस्या भएको नेताहरू बताउँछन् । बाँकी रहेका १८ पदाधिकारी छनोट गर्न केन्द्रीय कमिटीले पूर्णता नपाउँदा रोकिएको छ । महाधिवेशनले तीन पदाधिकारी मात्रै छानेको थियो ।
Source link