एजेन्सी, अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले विश्वकपको छनोट प्रतियोगितामा केही परिवर्तन गरेको छ ।
आइसिसीको सोमबार बसेको बोर्ड बैठकले महिला र पुरुष विश्वकपको छनोट प्रतियोगिताको प्रक्रियामा थोरै परिवर्तन गरेको हो ।
आइसिसीको नयाँ निर्णयअनुसार सन् २०२६ मा हुने पुरुष टी–२० विश्वकपमा एसिया क्षेत्र छनोटबाट तीन टिमले मौका पाउने छन् ।
आइसिसीले एसिया र इस्ट एसिया प्यासिफिक छनोटलाई एउटै प्रतियोगिता बनाउने निर्णय गरेपछि यस क्षेत्रबाट तीन टिमले विश्वकपको यात्रा गर्ने भएका हुन् ।
विगतमा एसियाबाट दुई र इस्ट एसिया प्यासिफिक छनोटबाट एक टिम विश्वकपमा छनोट हुन्थे ।
गत संस्करणमा एसियाबाट नेपाल र ओमान तथा इस्ट एसिया प्यासिफिकबाट पपुवा न्यूगिनी अर्थात् पिएनजी विश्वकपमा छनोट भएका थिए ।
आइसिसीको नयाँ व्यवस्थाअनुसार अब यी तीनवटै टिमले एकसाथ अन्तिम छनोट प्रतियोगिता खेल्ने छन् । विगतमा एसिया क्षेत्र छनोटमा यूएई, नेपाल, ओमान र हङकङ विश्वकपका लागि प्रमुख दाबेदार मानिन्थे ।
अब यो सूचीमा पिएनजी पनि जोडिएको छ । अघिल्लो संस्करणको छनोट प्रतियोगिताहरूमा उसले तुलनात्मकरूपमा कमजोर प्रतिद्वन्द्वी पन्छाएर लगातार विश्वकपमा स्थान बनाइरहेको थियो ।
तर, अब भने उसले केही बलियो प्रतिस्पर्धीलाई हराएर विश्वकपको टिकट काट्नुपर्ने स्थिति आएको छ ।
आइसिसीको नयाँ प्रावधानले नेपाल, ओमान, यूएई, हङकङलगायत टिमको विश्वकप यात्रा केही सहज बनेको छ ।
विगतमा एसिया क्षेत्र छनोटको फाइनल पुग्ने टिमले मात्र विश्वकपको टिकट पाउँथे । तर, अब भने सेमिफाइनलमा पराजित भएर तेस्रो स्थान हासिल गरे पनि विश्वकपमा स्थान बनाउने मौका मिल्नेछ ।
हालसम्म दसौँ संस्करणको विश्वकपका लागि १२ टिमको टुंगो लागिसकेको छ । अब उक्त विश्वकपमा आठवटा टिमको लागि ठाउँ खाली छ । सन् २०२६ को विश्वकप भारत र श्रीलंकाले संयुक्तरूपमा आयोजना गर्नेछन् ।
यस्तै, आइसिसीले महिला विश्वकपमा पनि टिमको संख्या बढाएको छ । सन् २०३० को विश्वकपदेखि आइसिसीले १६ टिमलाई खेलाउनेछ ।
आसन्न संस्करणको महिला टी–२० विश्वकपमा भने १० टिमले मात्र खेल्ने छन् । हालसम्म नेपालले महिला विश्वकप खेलेको छैन ।
यदि अहिलेदेखि नै ठोस योजनाका साथ अघि बढ्ने हो भने नेपालले सन् २०३० को विश्वकप खेल्न पाउने सम्भावना बलियो छ ।