सप्तकोशीमा घट्न थाल्यो पानीको बहाव

सप्तकोशी नदीमा पानीको बहाव घटे पनि खतराको सङ्केत रातो बत्ती भने बालिएको छ।

बहाव बढेर खतराको तह पार गरेपछि आइतबार बिहानदेखि ५६ वटै ढोका खुल्ला गरिएकोमा सोमबार साँझ छ बजेको मापन अनुसार पानीको बहाव दुई लाख २० हजार ८४० क्यूसेकमा झरेको छ। पानीको बहाव घटे पनि खतराको सङ्केत रातो बत्ती भने कायमै छ । अहिले कोशी ब्यारेजमा ३४ वटा ढोका खुल्ला गरिएको छ।

कोशी ब्यारेजमा पानीको बहाव एक लाख ५० हजार काट्ने वितिकै सर्वसाधारणलाई सचेत गर्नका निम्ति खतराको सङ्केत पश्चिमतर्फ रातो बत्ती बाल्ने गरिन्छ। दुई लाख काटनेवितिकै पूर्वतर्फ खतराको अर्को रातो बत्ती बालिने गरिन्छ। पानीको बहाव तीन लाख काट्नासाथ मध्यभागमा पनि रातो बत्ती बाल्ने गरिएको छ। अहिले पूर्व र पश्चिमतर्फ रातो बत्ती बालिएको छ।

आइतबार साँझ ५ बजेको मापन अनुसार यस वर्षकै सबैभन्दा उच्च पानीको बहाव तीन लाख ९३ हजार ७१५ पुगेको थियो। त्यसपछि निरन्तर पानीको बहाव घटी रहेको कोशी ब्यारेज कन्ट्रोल रुमका कर्मचारी अमित यादवले बताए।

कोशी ब्यारेज बन्दा नौ लाख ५० हजार क्युसेक पानी भारवहन क्षमता हुने उल्लेख छ । सप्तकोसी अहिलेसम्मको इतिहासमा सबैभन्दा बढी स्न १९६८ मा सात लाख ८८ हजार २०० क्यूसेक पुगेको थियो। यस्तै, पानीको बहाव बढी पुग्ने क्रममा सन् १९८७ मा पाँच लाख एक हजार ७७१ क्युसेक, सन १९८९ सेप्टेम्बर १९ मा चार लाख ७२ हजार १९३ क्युसेक, सन् २००४ जुलाई ११ मा तीन लाख ९८ हजार ६६९ क्युसेक र २०१९ जुलाई १३ मा तीन लाख ७१ हजार ११० क्युसेक पानीको बहाव थियो।

यस्तै, सन् २०२० मा तीन लाख ३४ हजार नौ सय, सन २०२१ मा दुई लाख ७४ हजार, सन् २०२२ मा दुई लाख ४३ हजार, सन् २०२३ अगस्ट १४ मा चार लाख ६२ हजार ३४५ क्युसेक पानीको बहाव मापन गरिएको थियो। सन २०११ साल बैशाख १५ गते नेपाल र भारत बिच कोशी योजना सम्बन्धी सम्झौता सम्झौता पश्चात् कोशी ब्यारेज बनेको थियो।

२०६५ भदौ–२ गते एक लाख ६८ हजार क्यूसेक पानीको बहाव हुँदा सप्तकोसी नदीले पूर्वी तटबन्ध भत्काएको थियो।

प्रकाशित: २४ असार २०८१ १८:४७ सोमबार

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *