काठमाडौँ । देशका विभिन्न स्थानमा हिजो भएका सवारी दुर्घटनामा परेर कम्तीमा ७ जनाको मृत्यु भएको छ भने मधेश प्रदेशमा मात्र ४ जनाको मृत्यु भएको छ।
सप्तरीको विष्णुपुर गाउँपालिका-१ खुरुरिया टोलस्थित सडकमा राजविराजबाट पत्थरगडातर्फ जाँदै गरेको स८ प २४१९ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ५७ वर्षीय प्रमेश्वर यादवको शुक्रबार राति मृत्यु भएको छ ।
ठक्करबाट गम्भीर घाइते भएका उनको छिन्मस्ता अस्पताल राजबिराजमा उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यसैगरी रौतहटको गरूडा नगरपालिका-१ जयनगरस्थित सडकमा गौरबाट चपुर हुँदै वीरगंजतर्फ जाँदै गरेको ना७ ख ८४१४ नम्बरको बस अनियन्त्रित भई शनिबार बिहान दुर्घटना हुँदा बसमा सवार माधवनारायण गाउँपालिका-३ भेल्ही बस्ने शैलेन्द्र कुमार गिरीकी छोरी १८ वर्षीया नेहा कुमारी गिरीको मृत्यु भएको छ।
दुर्घटनामा गम्भीर घाइते भएकी उनको ग्राण्डी अस्पताल शिवनगरमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका बसमा सवार अन्य ११ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ भने २ जना उपचार पश्चात डिस्चार्ज भएका छन् । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
यसैगरी रौतहटकै राजपुर नगरपालिका-६ अकलवा चोकमा बैरीयाबाट मनसरीतर्फ जाँदै गरेको बिआर ३० एन ३४७२ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई शनिबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकलमा सवार ईशनाथ नगरपालिका-८ मनसरी बस्ने फजले हककी छोरी १२ वर्षीया फरिना खातुनको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएकी उनको प्रादेशिक अस्पताल गौरमा उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यस्तै धनुषाको जनकपुर उपमहानगरपालिका-१४ स्थित सडकमा पिडारी चोकबाट लक्ष्मिनियातर्फ जाँदै गरेको ज३ प ५८३ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री जनकपुर उपमहानगरपालिका-१४ सडक डिभिजन कार्यालय जनकपुरमा कार्यरत सर्लाही हरपुर्वा गाउँपालिका घर भएका ५८ वर्षीय प्रवेश राउतको शनिबार दिउँसो मृत्यु भएको छ।
ठक्करबाट गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको हो। मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।


