हुम्ला जिल्ला अस्पतालमा औषधिको अभाव हुँदा बिरामी मर्कामा परेका छन्। १५ शय्याको अस्पतालमा गत वैशाखदेखि औषधि अभाव हुँदा चिकित्सकले लेखेका औषधि निजी मेडिकलबाट किनेर सेवन गर्न बिरामी बाध्य छन्। यो समयमा अस्पतालमा बिरामीको चाप बढेको छ, विशेषगरी रुघाखोकी र झाडापखालालगायत रोगका बिरामीको संख्या वृद्धि भएको छ।
खार्पुनाथ गाउँपालिका-३ रायाका धनबहादुर टमटा र सिमकोट गाउँपालिका-२ ठेहेका झप्रि सुनारले अस्पतालमा औषधि नपाएर निजी मेडिकलमा जानुपर्ने बाध्यता रहेको गुनासो गरेका छन्। निजी मेडिकलबाट औषधि किन्न आर्थिक अवस्था कमजोर भएकाले समस्या भइरहेको छ। बिरामीहरूले अस्पतालमा भिटामिनसम्म नभएको गुनासो गरेका छन्।
डा. सुर्जनकुमार सिंहले आइतबार र सोमबार मात्रै ८० जनाले सेवा लिएको र अन्य दिनमा ५० जना भन्दा कम बिरामी नहुने जानकारी दिए। लामो समय पानी नपर्दा मौसमी बिरामीको चाप बढेको छ। गाउँघरबाट एकरदुई दिनको पैदल हिँडेर बिरामीहरू जिल्ला अस्पतालमा उपचारका लागि आइरहेका छन्।
स्वास्थ्य सेवा कार्यालयका प्रमुख प्रेमबहादुर सिंहले हवाई उडान नभएका कारण औषधि नेपालगञ्जमा थन्किएको बताए। अबको एकरदुई दिनमा हवाई उडान सञ्चालन भएमा औषधि ढुवानी गरेर हुम्ला आइपुग्ने जानकारी उनले दिए।


