उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेसँग तिनकुने जग्गाको विषयमा देखिएको विवाद समाधान गर्न सरोकारवाला प्रतिनिधिले ध्यानाकर्षण गराएका छन् । गृह मन्त्रालयमा मंगलबार काठमाडौं क्षेत्र नम्बर १ का सांसद सोबिता गौतम, काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारलगायतको उपस्थितिमा उक्त जग्गाको मुआब्जापीडितले गृहमन्त्रीसमक्ष समस्या सुनुवाइका लागि आग्रह गरेका हुन् ।
सो क्रममा गृहमन्त्री लामिछानेले एक साताभित्रै त्यहाँको अवस्थाबारे जानकारी लिएर सरोकारवालासँग बैठक बस्ने प्रतिबद्धता जनाएका छन् । उनले समस्या समाधानका लागि पहल गर्ने आश्वासनसमेत दिएका छन् । पञ्चायत स्मारक पार्क बनाउन ०३१ सालमा तत्कालीन सरकारले ५२ रोपनी जग्गा अधिग्रहण गरेको थियो ।
तर, अहिलेसम्म सो मुआब्जा विवादको समस्या समाधान हुन सकेको छैन । सांसद गौतमले पनि उक्त समस्या समाधानका लागि पटक–पटक प्रतिनिधिसभा बैठकमा प्रश्न उठाउँदै आएकी छिन् ।
सो क्रममा मनोहर जग्गा एकीकरण र मनोहरा करिडोरमा देखिएको समस्या समाधानबारे पनि कुराकानी भएको थियो । तिनकुनेमा सरकारबाट केही जग्गाधनीले मुआब्जा बुझिसकेका छन् । केही जग्गाको मुआब्जामा वितरण र केहीको मूल्यांकनसमेत भएको छैन ।


