लालबन्दीबाट दुई महिनामा किसानले बेचे १९ करोडभन्दा बढीको तरकारी

लालबन्दीबाट दुई महिनामा किसानले बेचे १९ करोडभन्दा बढीको तरकारी

सर्लाही : लालबन्दीस्थित थोक तरकारी बजारमा किसानले दुई महिनामा लगभग १९ करोड रुपैयाँभन्दा बढीको तरकारी बिक्री गरेका छन् । कृषि थोक बजार व्यवस्थापन समितिका अनुसार लालबन्दी–७, डुमडुमेस्थित तरकारी बजारबाट फागुन र चैत महिनामा किसानले बिक्री गरेको १९ करोड बढीको तरकारी बाहिरी बजारमा निकासी भएको हो।

फागुन महिनामा मात्रै लालबन्दी तरकारी बजारबाट १० करोड सात लाख ५६ हजार ८७ रुपैयाँको तरकारी अन्यत्र निकासी भएको छ। किसानले फागुन महिनामा गोलभेँडा मात्रै चार करोड ७३ लाख ४२ हजार ८८७ रुपैयाँ र सिमी एक करोड ५७ लाख ३६ हजार ८७५ रुपैयाँको बिक्री गरेका छन्।

फागुन महिनामा हरियो खुर्सानीबाट ७१ लाख ४६ हजार रुपियाँ, काउलीबाट ४५ लाख ९३ हजार ७५० रुपियाँ, बन्दाबाट २६ लाख ६२ हजार दुई सय रुपैयाँ, भिन्डीबाट ११ लाख ७३ हजार रुपैयाँसहित अन्य हरियो तरकारी बिक्रीबाट किसानले राम्रो आम्दानी गरेका छन्।

त्यस्तै चैत महिनामा लालबन्दी बजारमा किसानले नौ करोड १८ लाख ८३ हजार ४२५ रुपैयाँको तरकारी बिक्री गरेका छन्। चैत महिनामा पनि सबैभन्दा धेरै गोलभेँडा मात्रै चार करोड ४२ लाख दुई हजार छ सय रुपैयाँको बिक्री भएको छ।

यो महिनामा किसानले एक करोड नौ लाख ७५ हजार पाँच सय रुपैयाँको सिमी, ६४ लाख ३० हजार रुपैयाँको हरियो खुर्सानी, ४३ लाख ४८ हजार १२५ रुपैयाँको भान्टा, २५ लाख ७० रुपैयाँको परबरसहित अन्य हरियो तरकारी बेचेका छन्।

लालबन्दी बजारमा किसानले ल्याएर बिक्री गर्ने तरकारी अहिले काठमाडौँको कालीमाटी र बल्खु तरकारी बजारसहित नारायणघाट, पोखरा, गौर, मलङ्गवा, जनकपुर, सिन्धुलीसहित पहाडी जिल्ला ओखलढुङ्गा र सोलुखुम्बुसम्म पनि पुग्ने गरेको कृषि थोक बजार व्यवस्थापन समितिका व्यवस्थापक शम्भुप्रसाद घिमिरेले जानकारी दिए।

लालबन्दी बजारमा सर्लाहीको आधा दर्जनभन्दा बढी पालिका र महोत्तरीको बर्दीबास तथा गौशाला नगरपालिकाका किसानले समेत आफूले फलाएको तरकारी ल्याएर बिक्री गर्ने गरेका छन्।

गोरखापत्रबाट

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *