नगरपालिकाले आम्दानीको स्रोत बढाउन माछा पाल्ने लक्ष्य राखेर २०७६ सालमा पोखरी खन्न थालेको थियो । बाँझो जमिन खन्दै जाँदा ठूलो ताल बनेको हो ।
सर्लाहीको वाग्मती नगरपालिका–४ मा निर्माण भएको देशकै सबैभन्दा ठूलो मानवनिर्मित ‘भरत ताल’ मधेश प्रदेशकै प्रमुख पर्यटकीयस्थलको रूपमा दरिएको छ । तालमा आन्तरिक एवम् बाह्य पर्यटकको चाप दिनानुदिन बढ्दो छ । यस ताल र यसको वरपरको पर्यटकीय विकासको अध्ययन र अवलोकन भ्रमणका लागि देशका विभिन्न पालिकाका जनप्रतिनिधिहरूको आउजाउ देखिन्छ ।

हावाको वेगसँगै तालमा छल्किने पानीले यहाँ आउने पर्यटक रोमाञ्चित बन्ने गरेका छन् । कलकल बग्ने वाग्मती नदी र छेउमा बन्दै गरेको रेलको लिगले समेत हरेक पर्यटकको मन लोभ्याउने गर्दछ । जयनगर–बर्दिवास रेलमार्गअन्तर्गत धनुषाको कुर्थादेखि महोत्तरीको बिजलपुरासम्म १७ किलोमिटर ब्रोडगेज रेलमार्ग निर्माण अघि बढिरहेको देखिन्छ ।
करिब १२१ बिघा क्षेत्रफलमा निर्माण गरिएको यस तालको गहिराइ १५ देखि ४५ फिटसम्म रहेको छ । गर्मीयाममा यहाँ मोटर बोट चढेर आनन्द लिन र मनोरञ्जनका लागि स्थानीय र वरपरका जिल्लाका पर्यटक यहाँ आउन थालेका छन् । बिदाको दिन परिवारसहित ठूलो सङ्ख्यामा आन्तरिक पर्यटक यहाँ आउने गरेको पाइन्छ ।

यसरी नामकारण भयो ‘भरत ताल’
देशका अन्य नगरपालिका र गाउँपालिकाले भ्यू टावरबाट आम्दानी बढाउने योजना अघि सारिरहँदा सर्लाहीको बागमती नगरपालिका मेयर भरतकुमार थापाले भने पृथक् काम गरेर देखाए, जसकारण यसपटकको स्थानीय चुनावमा पनि उनी चुनिए । औपचारिक नामकरण नभए पनि ‘भरत ताल’को नामले १४ वटा फुटबल मैदान जत्रो यस पोखरी चर्चित बन्न पुगेको छ । नगरले पोखरीलाई ‘बागमती माछा पोखरी’ बनाउने योजना तयार पारेता पनि स्थानीयले ‘भरत ताल’ नामकरण गरिदिएका छन् । हाल सबैले यस ताललाई भरत ताल नै भन्ने गरेको पाइन्छ ।
नगरपालिकाले आम्दानीको स्रोत बढाउन माछा पाल्ने लक्ष्य राखेर २०७६ सालमा पोखरी खन्न थालेको थियो । बाँझो जमिन खन्दै जाँदा ठूलो ताल बनेको हो । त्यसपछि ताल घुमफिरका लागि आकर्षणको केन्द्र बन्न पुगेको हो । तालमा हंसराज प्रजातिको हाँस पालिएको छ र आगामी दिनमा माछापालन समेत गरिने कार्ययोजना रहेको छ । तालको नजिकै सुमेरी पर्वत बताउने, शिवमूर्ति बनाउने र मिनी नेपालको कल्पना समेत गरिएको नगरप्रमुख थापाले बताए ।
नगर उपप्रमुख लीलाकुमारी मोक्तान ताललाई व्यवस्थित गर्दै बगैँचा, पार्क र वनभोजस्थलका रूपमा पनि विकास गरिने योजना नगरपालिकाले प्राथमिकतामा राखेको बताउँछिन् । उनका अनुसार तालको वरिपरि बगैँचा तथा घेराबेराको काम सम्पन्न हुने क्रममा रहेको छ । तालको वरिपरि खाजा घरहरू धमाधम निर्माण भइरहेका देख्न सकिन्छ ।
पानीको कमी हुन नदिन वाग्मती नदीबाट पानी हाल्ने व्यवस्था मिलाइएको छ । पानीको निकासको प्रबन्ध पनि छ । मधेसमा चुरे दोहनले पानीका मुहान दिन प्रतिदिन सुक्दै गइरहेका बेला तालले पानी रिचार्ज गरिरहेको छ । पहिले सुकेका तल्लो भेगका कुवा र इनारमा ताल निर्माणपछि पानी भरिन थालेको छ ।

भरत तालमा अहिले २० जना बस्न मिल्ने तिन वटा, साना साना २७ र एक सय २० जना अटाउने एउटा बोटहरूमा आन्तरिक एवम् बाह्य पर्यटकको भीड लागिरहेको पाइन्छ । तालको सुन्दर दृश्य, तालपारि देखिने चुरे पर्वत, तालमा पौडिँदै गरेका हाँस र तालमा सरर हिँडिरहेका मोटर बोटले पर्यटकको मन लोभ्याउने गरेको छ । तालमा फोटो खिच्ने, टिकटक बनाउने, बोटमा यात्रा गर्ने तथा ताललाई नजिकबाट नियाल्दै खाजा खाने, साथीभाइ भेट्ने तथा रमाइलो गर्ने पर्यटकको सङ्ख्या बढिरहेको देखिन्छ।
आकर्षक पर्यटकीय गन्तव्य
भरत ताल मधेश प्रदेशको नयाँ तर आकर्षक पर्यटकीय गन्तव्यको रूपमा दरिएको छ । तालमा घुम्न आउने आन्तरिक पर्यटकले रु दुई सयको टिकट काट्नुपर्दछ । जोखिम रहेकाले उक्त तालमा मानिसलाई पौडी खेल्न र माछा मार्न निषेध छ ।
तालको चर्चा चुलिएसँगै स्थानीयस्तरमा हुने रोजगारी, व्यवसाय विस्तारले पनि यो भेगका सर्वसाधारणको जनजीवन उकास्ने देखिन्छ । पोखरीका कारण पाँच किलोमिटरको दूरीमा रहेको रौतहटको नुनथर क्षेत्र र सर्लाहीको बागमती–११ मा पर्ने हरिहर क्षेत्रमा घुम्ने पर्यटकसमेत बढ्दै गएको स्थानीय व्यवसायीहरू बताउँछन् । ताल र वरपरिको संरचना बनाउन नगरपालिकाले ६० करोड भन्दा बढी रकम खर्च गरिसकेको बताएको छ ।

नगरपालिका ४ र १२ नम्बर वडाको बीचमा रहेको ताल साैन्दर्यकरणमा व्यापक अनियमितता भएको भन्ने खबरहरू पनि पछिल्लो समय सार्वजनिक नभएका होइनन्, तर मेयर थापाले बहुउद्देश्यीय काम गरेर देखाएका स्थानीयवासी बताउँछन् । ताल निर्माण भएसँगै रिक्सा चालक, स्थानीय खाजा पसल र त्यस क्षेत्रवरपरको आम्दानी बढेको देखिन्छ, तर व्यवस्थापनको पाटो भने अझै फितलो छ । ताल नजिकै ऐतिहासिक एवम् धार्मिक पर्यटकीयस्थलको रुपमा दरिएको नुनथर क्षेत्र (बागमति पारी) रहेको हुँदा पर्यटन लक्षित होटल, खाना, यातायात सुविधा एवम् रैथाने सामाग्रीहरूको उपलब्धता जरुरी देखिन्छ । सर्लाहीको पुरानै तालको रुपमा रहेको नाढीमन ताल पनि यस स्थानको आर्कषक पर्यटन गन्तव्य हो, तर भरत तालको अगाडि नाढीमन ताल फिका बन्न पुगेको देखिन्छ ।
कसरी पुग्ने ?
यो पोखरी पुग्न पूर्व–पश्चिम लोकमार्गबाट दुईवटा बाटा छन् । पूर्व (झापातर्फ) बाट आउँदा बागमती पुलदेखि एक किलोमिटर वरैबाट क्षेत्रीय बाटो प्रयोग गरेर तालसम्म पुग्न सकिन्छ ।
यदि तपाइँ काठमाडौं या पश्चिमी भेगबाट आउँदै हुनुहुन्छ भने बागमती पुल काट्नेबित्तिकै बागमती किनारैकिनार तीन किलोमिटर दक्षिण जानुपर्नेछ ।

ताल निर्माण हुँदै गर्दाको दृश्य


