बालाजु जलाधार क्षेत्रबाट वार्षिक तीन करोड लिटर पानी जमिनमुनि पठाइने

बालाजु जलाधार क्षेत्रबाट वार्षिक तीन करोड लिटर पानी जमिनमुनि पठाइने

काठमाडौं । बालाजु पार्कको जलाधार क्षेत्रबाट वार्षिक करिब तीन करोड लिटर (३० हजार किलोलिटर) पानी पुनःभरण हुने प्रणाली निर्माण गरिएको छ ।

यो बर्खामा आकाशबाट परेको पानी जमिनमुनि पठाउने प्रणाली हो । काठमाडौं महानगरपालिकाले कोकाकोला बेभरेज नेपाल, सेन्टर फर इन्टिग्रेटेड अर्बन डेभलपमेन्ट र वाटर एड नेपालसँगको सहकार्यमा प्रणाली विकास गरेको हो ।

महानगरका अनुसार रिचार्ज प्रणालीमा २१ वटा रिचार्ज इनार, २१ वटा रिचार्ज फिल्टरिङ च्याम्बर,  दुईवटा पानी थिग्रिने (डिसिल्टिङ चेम्बर), ७५ फिट अग्लो रिचार्ज खाडल र ७ वटा (९० फिट) बाँसको छेकबार (चेक ड्याम) बनाइएको छ । यसको निर्माण कार्य गएको बैशाख (२०८०) ९ गते सुरु गरिएको थियो । लागत ४३ लाख ६० हजार रुपैयाँ हो । 

निर्माण साझेदारले संयुक्त रूपमा आज प्रणाली र यसको सञ्चालन गर्ने विधि पुस्तिका महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोललाई हस्तान्तरण गरेका छन् । 

परियोजना बुझिसकेपछि उपप्रमुख डंगोलले, बालाजु क्षेत्रमा पानीको प्राकृतिक बहाब बढ्ने अपेक्षा व्यक्त गरिन् । “सहरमा पानीको अभाव छ । बर्खाको पानी बगेर खेर जान्छ । हिउँदमा पानीको अभाव आउँछ । यसलाई सन्तुलन गर्न पानी पुनःभरण प्रणालीको प्रवर्धन गरिरहेका छौँ,” उनले भनिन् ।

तीव्र सहरीकरणका कारण बढेको पानीको चरम अभाव कम गराउन यसप्रकारका प्रयासले समुदायले दायित्व लिँदै जाने अपेक्षा गरिएको छ । 

परम्परागतरूपमा काठमाडौंबासीले पानीका प्रमुख स्रोतका रूपमा भूमिगत जल नै प्रयोग गर्ने गरेका थिए । राजकुलो र पोखरीबाट पानी पुनःभरण हुने गर्थ्यो । जमिनमा जम्मा भएको पानी तल जान सक्थ्यो । पछिल्लो समयमा अत्याधिक भूमिगत पानी दोहन हुन थालेको छ ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *