पाकिस्तानले आफ्नो बलोचिस्तान प्रान्तमा दुईजना बालबालिकाको ज्यान जाने गरी क्षेप्यास्त्र हमला गरेको भन्दै आक्रोश व्यक्त गर्दै इरानको निन्दा गरेको छ।
इस्लामावादस्थित विदेश मन्त्रालयले आफ्नो हवाई सीमाको ‘पूर्णतः अस्वीकार्य उल्लङ्घन’ गरिएको भन्दै त्यसको सम्भावित ‘गम्भीर परिणाम बेहोर्नुपर्ने’ चेतावनी पनि दिएको छ।
तेहरानका चार्ज डे अफेयर्सलाई पनि विदेश मन्त्रालयमा बोलाएर विरोध जनाइएको छ।
त्यसअघि इरानको सरकारी सञ्चार माध्यमले एक उग्रवादी समूह जैश अल अदलका अखडाहरूमा हमला गर्न ड्रोन र मिसाइलहरूको प्रयोग गरिएको जनाएको थियो। उक्त समूहले सीमा क्षेत्रमा रहेका इरानी सुरक्षा सैन्यमाथि हमला गरेको थियो।
तर पाकिस्तानले त्यस्तो दाबीलाई अस्वीकार गर्दै त्यस्तो कार्य “गैरकानुनी” भएको भन्दै त्यसले “गम्भीर परिणामहरू” निम्त्याउने जनाएको छ।
लभगभ अभूतपूर्व
पाकिस्तान गत केही दिनमा इरानी हमला भएको इरान र सिरियापछि तेस्रो देश बनेको छ।
पाकिस्तानमा इरानबाट क्षेप्यास्त्र हमला हुनु लगभग अभूतपूर्व घटना हो। मङ्गलवार भएको उक्त घटना पाकिस्तानको विशाल क्षेत्रफल भएको दक्षिणपश्चिमी प्रान्त बलोचिस्तानस्थित सीमा क्षेत्रको एक गाउँमा भएको थियो।
सोमबार साँझ इरानले इराकको उत्तरी सहर इरबिलमा बलिस्टिक क्षेप्यास्त्र हमला गरेपछि अमेरिकाले त्यस्को निन्दा गरेको थियो।
गाजा स्ट्रिपमा इजरेल र इरानको समर्थनप्राप्त प्यालेस्टिनी समूह हमासबीचको युद्धका कारण मध्यपूर्वभरि तनाव चर्को रहेको बेला यी इरानी हमलाहरू भएका छन्।


