काठमाडौँ । काठमाडौँमा पहिलो पटक आँप मेला आयोजित भएको छ। ‘नेपालको उत्पादनलाई समर्थन गरौँ, ताजा र स्वादिलो आँपको आनन्द उठाऊँ’ नारामा आँप मेला सुरु भएको छ। यस मेलामा नेपालका तराई भेगका विभिन्न स्थानबाट ल्याएर काठमाडौंमा वालनट विष्ट्रो, उत्पाला क्याफे र ललितपुरको द हेरिटेज गार्डेनमा सञ्चालन भएको छ।
काठमाडौँमा पहिलो पटक आँप मेला आयोजक र स्थल
काठमाडौँमा आँप मेलाको-आयोजक किसान भेन्चर र काठमाडौं अर्गानिक्सको रहेको छ। उद्घाटन कार्यक्रम वालनट बिस्ट्रो, पानीपोखरीमा हुनेछ र पछि काठमाडौं अर्गानिक्स, उत्पला क्याफे बौद्ध र द हेरिटेज गार्डेन, झम्सिखेलमा तीन दिन नै आँप र आँपबाट बनेका विभिन्न उत्पादनहरूको प्रदर्शनी र बिक्री वितरण गरिने योजना बनाइएको छ।
मेला अवधि र उद्देश्य
आँप मेला असार ९ गतेसम्म सञ्चालन हुनेछ र यस अवधिमा नेपालका सर्लाही, सप्तरी र सिरहाका ५० जनाभन्दा बढी किसानहरूबाट प्रत्यक्ष खरिद गरी ल्याएको आँप प्रदर्शनी र बिक्री हुनेछ। मेलामा मालदह, जर्दा, बम्बै, गुलाब खास, अम्रपाली, कलकत्तिया, दसहरी लगायत १५ विभिन्न प्रकारका आँपहरू सिधा किसानबाट खरिद गरी उपभोक्तासम्म पुर्याइने उद्देश्य राखिएको छ।
मेला अवधिभर नेपाली आँपको प्रचलन बढाउने, किसानहरूलाई प्रोत्साहन गर्ने र उपभोक्ताहरूलाई स्वस्थ र स्वादिलो आँपको पहुँच पुर्याउने उद्देश्यमा यस कार्यक्रमको आयोजन गरिएको छ।


