नेपालमा प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) उल्लेख्य बढेको पाइएको छ । चालु आर्थिक वर्ष (आव) २०८०/८१ को ११ महिना (जेठ मसान्त) सम्म कुल ४४ अर्ब ४० करोड रुपैयाँ प्रत्यक्ष वैदेशिक लगानी भित्रिएको छ । यो गत आव २०७९/८० को यसै अवधिको तुलनामा १० अर्ब भन्दा धेरै हो । अघिल्लो आर्थिक वर्षको जेठसम्म ३४ अर्ब ५८ करोड रुपैयाँ बराबरको प्रत्यक्ष वैदेशिक लगानी भित्रिएको थियो । यस वर्ष सरकारले लगानी सम्मेलन आयोजना गरेको थियो । यसको प्रभाव लगानीमा देखिएको छ ।
उद्योग विभागका अनुसार जेठसम्म कुल ३५९ वटा प्रत्यक्ष वैदेशिक लगानीका प्रस्ताव स्वीकृत भएको छ । जेठ महिनामा मात्र ५२ वटा प्रस्ताव स्वीकृत भएको विभागको तथ्यांकमा उल्लेख छ । विभागका अनुसार जेठ महिनामा मात्र ३ अर्ब रुपैयाँ बराबरको वैदेशिक लगानी स्वीकृत भएको छ ।
यस वर्ष स्वीकृत भएको एफडीआईबाट २० हजार १४६ जनालाई रोजगारी सिर्जना हुने अनुमान गरिएको छ । जेठ महिनामा मात्र भित्रिएको एफडीआईबाट २ हजार ३२३ जनालाई रोजगारी सिर्जना हुने अनुमान गरिएको छ ।
अटोमेटिक रुटबाट ११ अर्ब भित्रियो
सरकारले चालु आवबाटै वैदेशिक लगानी भित्र्याउन सहजीकरण गर्ने उद्देश्यले अटोमेटिक रुट कार्यान्वयनमा ल्याएको थियो ।यसका माध्यमबाट जेठसम्म ११ अर्ब ८१ करोड रुपैयाँ बराबर वैदेशिक लगानी भित्रिएको छ ।जेठसम्म कुल ९० वटा प्रस्ताव अटोमेटिक रुटबाट भित्रिएर स्वीकृत भएको विभागले जनाएको छ । जेठ महिनामा मात्र ६८ वटा प्रस्तावमार्फत ८ अर्ब २७ करोड रुपैयाँ बराबरको एफडीआई भित्रिएको विभागको आंकडामा उल्लेख छ ।
एफडीआई ५ खर्ब नजिक
पछिल्लो तथ्यांक अनुसार नेपालमा कुल प्रत्यक्ष वैदेशिक लगानी करीव ५ खर्ब पुगेको छ ।जेठसम्म ५ खर्ब ९४ अर्ब ३६ करोड रुपैयाँ बराबरको प्रतयक्ष वैदेशिक लगानी स्वीकृत भइसकेको विभागको तथ्यांकमा उल्लेख छ ।अहिलेसम्म ६ हजार २१८ वटा एफडीआई स्वीकृत भइसकेको छ । स्वीकृत एफडीआईबाट ३ लाख २९ हजार ६५५ जनालाई रोजगारी सिर्जना हुने अनुमान गरिएको छ ।
साना उद्योगमा धेरै एफडीआई
आंकडा अनुसार नेपालमा साना उद्योगमा धेरै एफडीआई भित्रिएको पाइएको छ।यो वर्ष कुल ३४१ वटा साना उद्योगमा एफडीआई आएको छ । मध्यमस्तरीय उद्योगमा १४ र ठूला उद्योगमा ४ वटा मात्र प्रस्ताव स्वीकृत भएको छ । जेठ महिनामा ५१ वटा साना उद्योगमा एफडीआई स्वीकृत भएको छ । एउटा मात्र मध्यमस्तरीय उद्योगमा प्रत्यक्ष वैदेशिक लगानी स्वीकृत भएको विभागले जनाएको छ ।
पर्यटनमा आकर्षण
प्रत्यक्ष वैदेशिक लगानीको आकर्षण पर्यटनमा अधिक देखिन्छ । यस वर्ष स्वीकृत कुल एफडीआईमध्ये पर्यटनमा मात्र आधा भित्रिएको छ । पर्यटनमा कुल १७६ वटा प्रस्ताव स्वीकृत भएको छ। यो कुल प्रस्तावको ४९ प्रतिशत हो । सेवा क्षेत्रमा ११४ वटा प्रस्ताव स्वीकृत भएको छ। कुल प्रस्तावको ३२ प्रतिशत हो।उत्पादनमा ४० प्रस्ताव स्वीकृत भएका छन् । सूचना प्रविधिमा १०, कृषिमा ८, पूर्वाधारमा ७, खानीमा ३ वटा प्रस्ताव स्वीकृत भएको विभागको तथ्यांकमा उल्लेख छ ।


