सिरहा जिल्लाको बरियारपट्टि गाउँपालिका-३ स्थित शिवनगरमा आइतबार करिब २५ वर्षीया एक युवती मृत अवस्थामा फेला परेकी छन्। निर्भय यादवको सिसौ घारीमा भेटिएको शवको धारिलो हतियारले हत्या गरिएको पुष्टि भएको जिल्ला प्रहरी कार्यालय सिरहाका इन्स्पेक्टर दीपक कुमार सिंहले जानकारी दिएका छन्। सिरहामा मृत भेटिएकी युवतीको सनाखत हुन नसके पछी मृतकको पहिचानमा सहयोग पुर्याउन प्रहरीले तस्बिर सार्वजनिक गरेको छ।
प्रहरीका अनुसार, सिरहामा मृत भेटिएकी युवतीको बारेमा ,उनले पहेँलो रंगको कुर्ता सरुवाल, खरानी रंगको सल, र म्याजिक ब्राण्डको गुलाबी रंगको ४ नम्बरको चप्पल लगाएको थियो। औँलामा ‘सी प्लस एस’ लेखिएको औँठी थियो भने पेटदेखि बायाँ तिघ्रामा जलेको पुरानो खत देखिएको छ। शवलाई पोष्टमार्टमको लागि प्रादेशिक अस्पताल सिरहामा राखिएको छ।
घटनाको थप अनुसन्धान जारी रहेको छ भने मृतकको पहिचानको लागि प्रहरीले सार्वजनिक सहयोगको अपिल गरेको छ। शवलाई सनाखतपछि अन्तिम संस्कारको व्यवस्था मिलाइनेछ। यदि कसैले युवतीको पहिचानबारे जानकारी राख्नुभएको छ भने नजिकैको प्रहरी कार्यालयमा सम्पर्क गर्न अनुरोध गरिएको छ।


