आज ज्येष्ठ कृष्णपक्षको आमावस्या। मिथिलाका नारी (मिथिलानी) वर र पीपलको श्रद्धाभक्तिपूर्वक पूजाआराधनाका साथ पतिको दीर्घ जीवन र सुस्वास्थ्यको कामना गर्दै वटसावित्री पर्व मनाउँदैछन्। मिथिलामा आज वटसावित्री पर्व: पतिको दीर्घजीवनका लागि वरपीपलको पूजा ।
वटसावित्री पर्वलाई स्थानीय भाषामा ‘वसराइत पावइन’ पनि भनिन्छ। वटवृक्ष भएका स्थानमा जम्मा भएर मनाइने यो पर्वमा आज बिहानैदेखि वरपीपल भएका स्थानमा चहलपहल बढेको छ। नयाँ वस्त्र लगाएका महिला सामूहिक गीत गाउँदै हर्षपूर्वक यो पर्व मनाउँदै छन्।
पौराणिक कथाअनुसार सत्य युगमा सती सावित्रीले आफ्नो तपस्या र साधनाले जेठको औँसीका दिन अटल सौभाग्यको वरदान पाएकी विश्वासको आधारमा मिथिलानीले यसै कामनाका साथ यो पर्व मनाउँदै आएका छन्। जेठ कृष्ण चतुर्दशीका दिन चोखो खाएर व्रत सङ्कल्प गरेपछि औँसीका दिन निराहार व्रत बसेर आफ्नो बस्ती नजिकको वटवृक्ष (वरको रूख) को फेदमा ब्रतालु मिथिलानीले सामूहिक रूपमा सावित्रीलाई सम्झदै ब्रह्मा, विष्णु र महेशसहितका इष्टदेवको पूजा आराधना गरेर यो पर्व मनाउँछन्।
ब्रतालुले जेठ शुक्ल प्रतिपदाका दिन बिहान सूर्योदयसँगै यो व्रत सम्पन्न गर्ने परम्परा छ। सती सावित्रीले आफ्नो तपोवलले इष्टदेव रिझाएर ढलेका आफ्ना पति सत्यवानलाई जगाएर अटल सौभाग्यको वर पाएकी पौराणिक कथा नै यो पर्वको परम्परा हो। वरको रूखमा ब्रह्मा, विष्णु र महेशसहित तीनै देवताको बास हुने मैथिल जनविश्वासअनुसार यो पर्वको सङ्कल्प, पूजाआराधना र समापन एकै ठाउँ वरको रूखको फेदमा गरिन्छ।
नयाँ परिधानमा सजिएर वटवृक्ष परिसर सरसफाई गर्नेदेखि सावित्री कथा वाचन र श्रवण गर्ने परम्परा पनि छ।साथीसंगीसँग नाच्दै, गाउँदै वटवृक्षमुनि वटसावित्री कथा सुनेर मनाइने यो पर्व मिथिलानीहरूका लागि भेटघाट, हँसिमजाक र घरायसी दुखःसुख एकअर्कालाई सुनाउने अवसरसमेत हुने गरेको ब्रतालु मिथिलानी बताउँछन्। मिथिलामा आज वटसावित्री पर्व पतिको दीर्घजीवनका लागि वरपीपलको पूजा गरिन्छ ।
व्रतको अभिष्ट नै पतिको दीर्घजीवनको कामना हुने महोत्तरीको बर्दिबास–२ वरचौतारामा पर्वको तयारीमा रहेका शैल कर्णले बताए। मिथिलामा केही दशकअघिसम्म ब्राह्मण, कायस्थ र सोनार जातिका महिलाले मात्रै मनाउने गरेको यो पर्व हिजोआज सबै जातजातिका मिथिलानीले मनाउन थालेका छन्।


