काठमाडौं । शोभित बस्नेतको नयाँ फिल्म ‘अनटाइटल’ निर्देशन गर्ने कुरा पक्का भएको छ। अस्ट्रेलियामा गैरआवासीय नेपाली कृष्ण थापाको प्रस्तुतिमा बन्ने यस फिल्मका लागि निर्देशक बस्नेतसँग लिखित समझदारी भइसकेको छ। केही दिनमै फिल्मको औपचारिक घोषणा गरिने तयारी भइरहेको छ।
शोभित बस्नेतको नयाँ फिल्मको पटकथा पनि स्वयं बस्नेतले नै लेख्नेछन्। कार्यकारी निर्मातामा नवीन घायल र सह–निर्मातामा हिमाल भण्डारी रहने छन्। सौरभ लामाले छायांकन गर्ने र हिमाल केसीले एक्सन कोरियोग्राफी सम्हाल्ने भएका छन्। कलाकार तथा अन्य प्राविधिक टिम भने चाँडै सार्वजनिक गरिनेछ।
शोभित बस्नेतको नयाँ फिल्मको ६० प्रतिशत छायांकन अस्ट्रेलियामा र ४० प्रतिशत नेपालको जुम्लामा गरिने तय भएको छ। विदेशी भूमिमा नेपाली कथावस्तु समेट्ने शैलीलाई निरन्तरता दिँदै यस फिल्मले पनि प्रवासी नेपाली जीवनसँग सम्बन्धित कथा उठाउने अपेक्षा गरिएको छ।
शोभित बस्नेतको नयाँ फिल्म सुरु हुनुअघि उनी टिभी कार्यक्रम ‘कमेडी दरबार’ को टिमलाई २० मार्चदेखि एक महिनाका लागि अस्ट्रेलिया टूरमा लैजाने तयारीमा छन्। उक्त टूर सकिएलगत्तै फिल्मको छायांकन सुरु हुने जनाइएको छ।
शोभित बस्नेतको नयाँ फिल्ममा हालै निर्देशन गरेको फिल्म ‘पीआर’ का केही कलाकार दोहोरिन सक्ने सम्भावना पनि छ। फिल्ममा दुई नायक र दुई नायिका रहनेछन्। पछिल्लो समय अस्ट्रेलियाली डायस्पोरा नेपाली फिल्मको ठूलो बजार बन्दै गएकाले यो फिल्मले व्यावसायिक रूपमा पनि राम्रो सम्भावना बोकेको निर्माण टिमको विश्वास छ।


