२५ असोज, काठमाडौं । नेपाली कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) ले युवामैत्री कांग्रेस निर्माण गर्न माग गर्दै शनिबार सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा धर्ना प्रदर्शन गरेको छ। प्रदर्शनमा सहभागी युवाहरूले पार्टी नेतृत्वमा नयाँ पुस्ताको सहभागिता अनिवार्य बनाउनुपर्ने माग राख्दै विभिन्न प्लेकार्डसहित विरोध जनाएका थिए।
धर्नामा सहभागीहरूले ‘युवामैत्री कांग्रेस चाहिन्छ’, ‘हरेक पदमा ४० प्रतिशत युवा सुनिश्चित गर’, ‘परिमार्जन बिनाको महाधिवेशन मान्य छैन’, ‘एक व्यक्ति एक पद’ लगायतका नाराहरू लेखिएका प्लेकार्ड बोकेका थिए। उनीहरूले कांग्रेसमा आन्तरिक लोकतन्त्र सुदृढ गर्न र नयाँ पुस्ताको प्रतिनिधित्व बढाउन तत्काल विधान संशोधन गर्न माग गरे।
कार्यक्रममा बोल्दै नेविसंघका केन्द्रीय सदस्य आकाश उप्रेतीले पार्टीमा युवाहरूको सहभागिता सुनिश्चित नगरी कांग्रेस सशक्त बन्न नसक्ने बताए। उनका अनुसार पार्टीले पदाधिकारी र कार्यसम्पादन बैठकको पूर्वसन्ध्यामा युवाको आवाज सुन्नुपर्ने भएकाले धर्ना प्रदर्शन गरिएको हो। उनले पार्टीमा क्रियाशील युवा सदस्यता कम्तीमा ३० प्रतिशत पुर्याउनुपर्ने माग राखे।
उप्रेतीले युवामैत्री र चलायमान संगठन निर्माणका लागि विधान संशोधन अनिवार्य रहेको बताए। उनले सबै तहका निर्वाचनहरूमा कम्तीमा ४० प्रतिशत युवालाई आधिकारिक उम्मेदवारको रूपमा अघि सार्ने व्यवस्था विधानमै समावेश गर्नुपर्ने माग दोहोर्याए।
जेन–जी आन्दोलनपश्चात कांग्रेसले आम युवाको विचारलाई आत्मसात् गर्नुपर्ने उल्लेख गर्दै उनले भने, “पार्टीले युवाको आवाजलाई निर्णय प्रक्रियामा ल्याउन सके मात्रै कांग्रेस बलियो बन्न सक्छ।” उनले आगामी केन्द्रीय समितिको बैठकले युवामैत्री कांग्रेस निर्माणका लागि ठोस निर्णय गर्नुपर्ने सुझाव दिए।


