१९ साउन, काठमाडौं — उच्च अदालत पाटनको आदेशपछि मेडिकल व्यवसायी दुर्गा प्रसाईं डिल्लीबजार कारागारबाट धरौटीमा रिहा भएका छन्। उनलाई सोमबार दिउँसो कारागार प्रशासनले कानुनी प्रक्रिया पूरा गरेर रिहा गरेको हो।
उनीमाथि बैंकिङ कसुर तथा १५ चैतको राजावादी आन्दोलनमा हिंसात्मक प्रदर्शनसँग जोडिएको मुद्दामा आरोप लागेको थियो। उच्च अदालत, पाटनले दुबै मुद्दामा धरौटीमा रिहा गर्न आदेश दिएको हो।
बैंकिङ कसुरसम्बन्धी मुद्दामा अदालतले २५ लाख रुपैयाँ धरौटी मागेको थियो भने आन्दोलनसँग जोडिएको मुद्दामा ३ लाख धरौटी तोकेको थियो। क्यान्सर पीडित भएको अवस्थालाई ध्यानमा राख्दै अदालतले उनी धरौटीमा छुट्नसक्ने फैसला सुनाएको हो।
डिल्लीबजार कारागारबाट निस्किएपछि प्रसाईं सञ्चारकर्मीहरूसँग प्रतिक्रिया दिन चाहन्थे, तर प्रहरीको निर्देशनमा उनी चढेको गाडी सिधै अगाडि बढाइएको थियो।
प्रसाईंले जिल्ला अदालतको थुनामा पठाउने आदेशविरुद्ध उच्च अदालतमा निवेदन दिएका थिए। उच्च अदालतको दुई फरक इजलासले उनलाई दुई छुट्टाछुट्टै धरौटी रकममा रिहा गर्न आदेश दिएको हो।


