किसानको आन्दोलन अगाडि झुक्यो लालबन्दी नगरपालिका, तरकारीको निकासी कर हट्यो

किसानको आन्दोलन अगाडि झुक्यो लालबन्दी नगरपालिका, तरकारीको निकासी कर हट्यो

लालबन्दी, सर्लाही। तरकारीमा लगाइएको निकासी करको विरोधमा किसानको आन्दोलन चर्किएपछि लालबन्दी नगरपालिकाले सो कर फिर्ता लिएको छ। नगरपालिकाले साउन १ गतेदेखि लागू गरेको करप्रति व्यापारी असन्तुष्ट भएपछि तरकारी खरिद ठप्प भएको थियो, जसका कारण किसानहरू सडकमा उत्रिएका थिए।

आइतबार बिहानैदेखि आक्रोशित किसानहरूले टमाटर, बोडी लगायतका तरकारी सडकमै तेर्स्याएर पूर्व–पश्चिम राजमार्ग अवरुद्ध गरे। आन्दोलनका कारण सयौं सवारी साधन अलपत्र परे भने यात्रुहरूलाई दिनभर सास्ती भयो।

लालबन्दी नगरपालिकाले साउन १ गतेदेखि तरकारी निकासीमा कर लगाउने निर्णय गरेपछि व्यापारीहरूले विरोध स्वरूप तरकारी खरिद बन्द गरे। कृषि उपज संकलन केन्द्रका अध्यक्ष प्रमोद थपलियाका अनुसार, पहिले भएको सहमति कार्यान्वयन नभएपछि व्यापारीहरूले किनमेल गर्न नसकेका हुन्।

चौतर्फी दबाबपछि आइतबार दिउँसो नगर कार्यपालिकाको बैठक बसेर ‘अर्को व्यवस्था नहुन्जेलका लागि’ कर स्थगन गर्ने निर्णय गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ। कर स्थगनसँगै राजमार्ग र बजार सामान्य अवस्थामा फर्किएको छ।

लालबन्दी क्षेत्र सर्लाहीको प्रमुख तरकारी उत्पादन केन्द्र हो। यहाँ उत्पादन हुने टमाटर, बोडी, परवल लगायतका तरकारीहरू काठमाडौँ, पोखरा, नारायणगढ जस्ता प्रमुख सहरहरूमा दैनिक लाखौँ रुपैयाँको कारोबारमा निकासी हुने गर्छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *