हरिपुरमा जंगली हात्तीको आतंक : स्थानीय त्रसित, बाली नष्ट

लालबन्दी । सर्लाहीको हरिपुर नगरपालिका–२, जानकीनगर सखुवा मौजामा जंगली हात्तीले बालीनालीमा क्षति पुर्‍याउन थालेपछि स्थानीय किसानहरू चिन्तित बनेका छन् । गएराति बस्तीमा तीनवटा जंगली हात्ती प्रवेश गरी किसानले लगाएको मकै बाली नष्ट गरेका हुन् ।

स्थानीय बासिन्दा ध्रुवप्रसाद प्रसाईका अनुसार गएराति अचानक गाउँमा तीनवटा हात्ती देखा परेका थिए । हात्तीको बथानले स्थानीय किसानहरू श्याम उप्रेती, सन्तोष उप्रेती र इन्द्रबहादुर खड्काको मकै बालीमा व्यापक क्षति पुर्‍याएको छ ।

केही समयअघि आएको हावाहुरी र असिना पानीका कारण बालीनालीमा ठूलो नोक्सानी भएको थियो । प्राकृतिक प्रकोपबाट बचेको मकै खेती पनि अहिले जंगली हात्तीले सखाप पार्न थालेपछि किसानहरू थप मर्कामा परेका छन् । वर्षभरि खाने अन्न हात्तीले नष्ट गरिदिएपछि पीडित किसानहरूमा चिन्ता छाएको छ ।

साँझ पर्न थालेपछि गाउँमा हात्ती पस्ने डरले स्थानीयवासी त्रसित हुने गरेका छन् । उनीहरूले बालीनालीको सुरक्षा र हात्ती नियन्त्रणका लागि सम्बन्धित निकायसँग माग समेत गरेका छन् ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *