शिक्षक नवराज न्यौपानेको निधन, शोक बिदा घोषणा

शिक्षक नवराज न्यौपानेको निधन, शोक बिदा घोषणा

लालबन्दी । लालबन्दी नगरपालिका–१६ निवासी तथा कालिन्जोर माध्यमिक विद्यालय लालबन्दी–१७ रानीगञ्जमा कार्यरत अङ्ग्रेजी विषयका शिक्षक नवराज न्यौपानेको उपचारका क्रममा निधन भएपछि लालबन्दी नगरपालिकाले गहिरो दुःख व्यक्त गर्दै शोक वक्तव्य जारी गरेको छ।

नगरपालिकाका अनुसार शिक्षक न्यौपानेको २०८२ चैत ११ गते बुधबार उपचारको क्रममा निधन भएको हो। उनको असामयिक निधनले नगरपालिका परिवार तथा शैक्षिक क्षेत्रमा ठूलो क्षति पुगेको जनाउँदै नगरपालिकाले दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेको छ।

साथै शोकसन्तप्त परिवारजनमा धैर्य धारण गर्ने शक्ति प्राप्त होस् भन्ने कामना गर्दै गहिरो समवेदना व्यक्त गरिएको छ।

नगरपालिकाले जारी गरेको वक्तव्यमा शिक्षक न्यौपानेले शिक्षण पेशामा रहेर अनुशासित, मर्यादित र कर्तव्यनिष्ठ शिक्षकको रूपमा महत्वपूर्ण भूमिका निर्वाह गरेको उल्लेख गरिएको छ। उनको योगदानले स्थानीय शैक्षिक क्षेत्रमा सकारात्मक प्रभाव पारेको नगरपालिकाको भनाइ छ।

यसैबीच हाल सञ्चालन भइरहेका वार्षिक परीक्षालाई ध्यानमा राख्दै २०८२ चैत १८ गते बुधबार लालबन्दी नगरपालिकामातहतका सबै विद्यालयमा एक दिन शोक बिदा दिने निर्णय गरिएको पनि नगरपालिकाले जनाएको छ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पिताम्बर लुइँटेलद्वारा जारी शोक वक्तव्यमा शिक्षक न्यौपानेको निधनप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शिक्षा क्षेत्रमा उनले पुर्‍याएको योगदानको उच्च कदर गरिएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *