लालबन्दी । सर्लाहीको लालबन्दीबाट प्रहरीले प्रतिबन्धित लागुऔषध गाँजासहित एक युवकलाई पक्राउ गरेको छ।
इलाका प्रहरी कार्यालय लालबन्दीका अनुसार शुक्रबार सार्वजनिक गरिएको घटनाबारे जानकारीमा मिति २०८२ फागुन २८ गते राति करिब ११ बजे प्रहरी चौकी पत्थरकोटबाट खटिएको प्रहरी टोलीले सवारी साधन तथा पैदल यात्रुको चेकजाँच गर्ने क्रममा एक युवकलाई गाँजासहित नियन्त्रणमा लिएको हो।
प्रहरीले लालबन्दी नगरपालिका–१२ पत्थरकोटदेखि जियाजोरतर्फ जाने सडक खण्डमा चेकजाँच गरिरहेको बेला लालबन्दी नगरपालिका–११ बाहुनीटोल बस्ने २१ वर्षीय सोम तामाङले चलाएको बा ४७ प ८६६४ नम्बरको मोटरसाइकल रोकेको थियो। चेकजाँचका क्रममा मोटरसाइकलको पछाडिको सिटमा बाँधेर ल्याइएको कालो रंगको झोलाभित्र लुकाइछिपाइ राखिएको अवस्थामा प्रतिबन्धित लागुऔषध गाँजा फेला परेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार उक्त झोलाभित्र प्लास्टिकसहित १० किलो ४१४ ग्राम गाँजा बरामद गरिएको हो। गाँजासहित पक्राउ परेका तामाङलाई नियन्त्रणमा लिएर लागुऔषध गाँजासम्बन्धी मुद्दा दर्ता गरिएको प्रहरीले जनाएको छ।
यस सम्बन्धमा सर्लाही जिल्ला अदालतबाट १० दिनको म्याद थप अनुमति लिई इलाका प्रहरी कार्यालय लालबन्दीबाट थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।


