१२ फागुन, काठमाडौं । David Ramdam Official युट्युब च्यानलमा सार्वजनिक गरिएको नयाँ गीत ‘परिवर्तन’ ले Gen Z आन्दोलन र त्यसका परिणामलाई भावनात्मक ढंगले प्रस्तुत गरेको छ। भिडियोको सुरुवात रगतले भिजेको सेतो जुत्ताबाट हुन्छ, जसले आन्दोलनमा ज्यान गुमाएका युवाको बलिदानको संकेत गर्छ। त्यसपछि साना नानीहरू संगै अन्य व्यक्तिहरूले नेपालको झण्डा घुमाउँदै र फहराउँदै गरेको दृश्य देखिन्छ, जसले देशप्रतिको माया र बलिदानको सम्झनालाई जोड दिएको छ।
गीतले आन्दोलनमा सहिद भएका युवासाथीहरू मात्र होइन, छोरा–छोरीले भोग्नुपरेको पीडा र अभावलाई पनि चित्रण गरेको छ। आमाबाबुले गुमाएका बालबालिकाको आँखाबाट देखिने भविष्यको प्रश्न र देशप्रतिको आशालाई भिडियोले सरल तर गहिरो शैलीमा प्रस्तुत गरेको छ। यसले आन्दोलनको राजनीतिक पक्षभन्दा पनि मानवीय पक्षलाई केन्द्रमा राख्दै समाजलाई सोच्न बाध्य बनाउँछ।
गीतमा लोकप्रिय गायक राजेश पायल राईको स्वर रहेको छ भने कोरसमा मानिषा राई र रमिला ग्याङ्मीको साथ रहेको छ। शब्द डेभिड रामदम र प्रेम कुमार शाहीले लेखेका हुन् भने संगीत डेभिड रामदमकै रहेको छ। एरेञ्जमेन्ट उदय राज पौडेलले गरेका छन्। भोकल रेकर्ड सायेराम स्टुडियोमा गरिएको हो भने मिक्सिङ तथा मास्टरिङ चन्दु गोरखालीले गरेका छन्। यस गीतका निर्माता विमला तामाङ हुन्।

भिडियोमा अभिषेक श्रेष्ठ, सुरेश बोहरा, शशिकला तामाङ र टिमको अभिनय रहेको छ। मेकअप आर्टिस्ट सृष्टि चौधरी, प्रोडक्सन म्यानेजर केशर बीसी रहेका छन्। पोस्टर तथा आर्ट एसडी हाउसले तयार पारेको हो भने सम्पादन सन्तोष कुमारले गरेका छन्। रंग संयोजन मिलन विश्वकर्माले गरेका छन्। छायांकन सन्तोष कुमार र टिमले गरेका छन् भने नृत्य संयोजन तथा निर्देशन पनि सन्तोष कुमारकै रहेको छ। ड्रोन सट डिनेश दाङीले खिचेका हुन्।
‘परिवर्तन’ गीतले Gen Z आन्दोलनमा ज्यान गुमाएका युवाहरूको सम्झना र उनीहरूको सपना अझै जीवित रहेको सन्देश दिन खोजेको छ। यसले युवापुस्तालाई देशप्रतिको जिम्मेवारी सम्झाउने र बलिदानको मूल्य बुझाउने प्रयास गरेको देखिन्छ।


