कांग्रेस २.० को अवधारणा सार्वजनिक गर्दै कांग्रेस सभापति गगन थापाले जनकपुरबाट देश बदल्ने संकल्प व्यक्त गरेका छन्। तीनपटक काठमाडौंबाट चुनाव जितेका उनी यसपटक सर्लाही–४ बाट प्रतिस्पर्धा गर्दै मधेशको भूमिबाट राजनीतिक सन्देश दिन जनकपुर पुगेका हुन्। पहिलो चुनावी सभा यहीँ गरेर कांग्रेसले आफ्नो नयाँ राजनीतिक यात्राको सुरुवात गरेको जनाएको छ।
कांग्रेस २.० को अभियान अन्तर्गत पार्टीले चुनावी प्रतिज्ञापत्र र ‘भिजन–१०’ सार्वजनिक गरेको छ। यस भिजनमार्फत पाँच वर्षमा देश परिवर्तन गर्ने खाका प्रस्तुत गरिएको छ। जनकपुरबाट प्रतिज्ञापत्र सार्वजनिक गर्नुको उद्देश्य मधेशलाई राजनीतिक केन्द्रमा राख्दै नयाँ शक्तिहरूसँग प्रतिस्पर्धा गर्ने सन्देश दिनु रहेको नेताहरूले बताएका छन्।
कांग्रेस २.० को सन्देश दिन आयोजित सभामा पार्टीका शीर्ष नेताहरू एकै मञ्चमा देखिए। विशेष महाधिवेशनपछि देखिएको आन्तरिक दूरी घटाउने प्रयास पनि सभाबाट गरिएको थियो। सभामा कांग्रेस बदलिएर आएको र अब देश बदल्ने दाबी गरिएको थियो, जसलाई सहभागी कार्यकर्ताले ताली बजाएर समर्थन जनाए
कांग्रेस २.० मार्फत मधेशमा कमजोर हुँदै गएको पार्टीको आधार पुनः बलियो बनाउने रणनीति अघि सारिएको छ। मधेश प्रदेशमा ठूलो मतदाता संख्या रहेकाले यहाँ राम्रो प्रदर्शन नगरे प्रतिनिधि सभामा प्रभावशाली उपस्थिति सम्भव नहुने बुझाइ कांग्रेसको छ। त्यसैले संघीयता, रोजगारी र विकासलाई मुख्य मुद्दा बनाएर मधेश केन्द्रित सन्देश प्रवाह गरिएको छ
कांग्रेस २.० को नारासहित गगन थापाले युवाको भावना सम्बोधन गर्ने र पुराना गल्ती सुधार्ने प्रतिवद्धता व्यक्त गरेका छन्। जनकपुरको सभाबाट कांग्रेसले आत्मविश्वासका साथ नेतृत्वको दाबी गरेको छ। मधेशको ऐतिहासिक भूमिबाट सुरु गरिएको यो अभियानले आगामी निर्वाचनमा कस्तो परिणाम दिन्छ भन्ने प्रश्नको उत्तर अब फागुन २१ पछि मात्र स्पष्ट हुने



