काठमाडौँ, मङ्सिर २: क्लाउडफेयरले मंगलबार साँझ मर्मतसम्भार गर्दा विश्वभरका ७५ लाखभन्दा बढी वेबसाइट एकैपटक अवरुद्ध भएको छ। समस्या सवा ५ बजेपछि सुरु भएको र धेरै लोकप्रिय प्लेटफर्महरू चल्न छोडेपछि प्रयोगकर्ताहरू अन्योलमा परेका थिए। एक्स, ओपनएआईको च्याटजिपीटी, र हजारौँ एप्लिकेशन प्रभावित बनेका थिए। क्लाउडफेयरले आफ्नै साइटमार्फत सेवा अवरुद्ध भएको पुष्टि गरेको छ।
क्लाउडफेयरमा चल्ने साइट बन्द भएपछि डाउन डिरेक्टरजस्ता निगरानी प्लेटफर्म पनि चल्न सकेनन्। इन्टरनेटमा तीव्र र सुरक्षित सेवा दिन बनाइएको संरचना नै मर्मतमा परेपछि विश्वभर सेवा ठप्प भयो। क्लाउडफेयरले हजारौँ एप्लिकेशनका अनुरोध रोकिएपछि ठूलो ट्राफिक कटौती भएको जनाएको छ।
विश्वभर एक्स प्रयोगकर्ताले सबैभन्दा धेरै समस्या भोगे। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार करिब ४३ प्रतिशत प्रयोगकर्ताले पोस्ट हेर्नै नसकेको शिकायत गरे। २३ प्रतिशतले वेबसाइट चलाउन समस्या बताए भने २४ प्रतिशतले सामान्य वेब कनेक्शनसमेत काम नगरेको जनाए। एप खोल्दा लोड नहुने, टाइमलाइन अपडेट नहुने जस्ता समस्या व्यापक बने।

साइबर विज्ञ चिरञ्जीवी अधिकारीले क्लाउडफेयर आउटेजलाई ठूलो सुरक्षा चेतावनी भएको बताए। उनका अनुसार इन्टरनेट संरचना अत्यधिक केन्द्रीयिकरणमा आधारित भएकाले एकै ठाउँमा समस्या आउँदा ठूलो जोखिम पैदा हुन्छ। उनले बहु–प्रदायक प्रणाली अपनाउन, नेटवर्क बिभाजन गर्न र जिरो ट्रस्ट सुरक्षा अपनाउन आवश्यक भएको बताए। क्लाउडफेयर र्यापमार्फत हरेक पहुँच सुरक्षित गर्नेबारे पनि उनले जोर दिए।
अधिकारीले संस्थाहरूले आपतकालीन प्रतिक्रिया योजना पुनःसमिक्षा गर्नुपर्ने बताए। सेवा अवरुद्ध हुँदा प्राथमिकता निर्धारण गरेर फेल भएका वेबसाइट पहिला सुधार्नुपर्ने उनले सुझाए। विश्वव्यापी रूपमा इन्टरनेटमा लचकता नै अबको वास्तविक सुरक्षा हुने भन्दै अन्तर्राष्ट्रिय सहकार्य आवश्यक रहेको उनको निष्कर्ष छ।


