महोत्तरी : माटोका सामान बिक्री हुन छाडेपछि पुर्ख्यौली पेशा सङ्कटमा

महोत्तरी । तिहार र छठ पर्वका बेला तराईमा माटोको दियो र माटोकै भाँडाकुँडा बनाउँदै आएका कुमाल जातिको पेसा सङ्कटमा पर्दै गएको छ ।

झिलीमिली बत्ती, धातुका दियो, भाँडाकुँडालगायत वस्तुहरूका कारण तिहार र छठ पर्वका लागि पुस्तौँदेखि महोत्तरीसहित सम्पूर्ण मिथिलाञ्चलमा माटोको दियो र भाँडाकुँडा बनाउँदै आएका कुमाल जातिको पेसा सङ्कटमा परेको जलेश्वर नगरपालिका–५ का ध्रूव रायले बताए ।

दीपावली र छठ पर्वको बेला वर्षेनी लाखौँका माटाका भाँडाकुँडा र दियो बिक्री गर्ने कुमालहरू अहिले बजारमा आएका बत्ती, प्लास्टिक र धातुका भाँडाकुँडाले गर्दा माटोको भाँडा वर्तन र दियो (पाला) लगायतका सामग्रीको बिक्रीमा कमी आएको जलेश्वर नगरपालिका–६ का कुमाल गणेश पण्डितले बताए ।

पहिले जिल्लाभरकै हाट बजारमा माटोको सामग्रीहरू बिक्री हुने गरेकामा अहिले नगन्य मात्रामा ती बजारमा सामग्री बिक्री हुने जलेश्वर नगरपालिका–१ का कुमाल सुरेन्द्र पण्डितले बताए। विगतमा महोत्तरीको विभिन्न गाउँठाउँमा बनाइएका माटाका भाँडाकुँडा तराई मधेसमा मात्रै नभएर काठमाडौँ, पोखरा, हेटौँडा, जनकपुर र भारतीय सहर मधुबनी, दरभङ्गा, सितामढी र पटनासम्म निर्यात हुने गरेको थियो ।

माटोका सामग्रीहरू बिक्री नहुनु र बिक्री भए पनि लगानी नउठ्नुले यस पेसामा अब नयाँ पुस्ताहरू आउन नचाहने गौशाला नगरपालिका–६ का कुमाल वीरजु पण्डितले बताए।

सबैतिर आधुनिकता हाबी हुँदै गए पनि बुढापाका र संस्कृति प्रेमीहरूले अझै माटोकै भाँडाकुँडा प्रयोग गर्न रुचाउने भएकाले कुमाल जातिका बुढापाकाहरूले जसोजतो ती सामग्रीहरू बनाएर जीविका चलाइरहेको बलवा नगरपालिका–७ का पूर्वशिक्षक सुशील यादवले बताए ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *