हरिपुर्वामा माटोको ढिस्को खस्दा चार जना गम्भीर घाइते

हरिपूर्वा : सर्लाहीको हरिपुर्वा नगरपालिका-१, हर्दी नदीस्थित एक स्थानमा माटो खन्ने क्रममा ढिस्को खस्दा चार जना गम्भीर घाइते भएका छन्।

बुधबार बिहान करिब ९:२० बजेतिर भएको उक्त घटनामा महोत्तरीको सोनमा गाउँपालिका-६, मगरथानाका चार जना घाइते भएका हुन्।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार खुर्पाले माटो खनिरहेका बेला अचानक माटोको ढिस्को खस्दा उनीहरू ढिस्कोले पुरी गम्भीर घाइते भएका थिए। घटनाको खबर प्राप्त हुनासाथ प्रहरी चौकी हरिपुर्वाबाट प्रहरी सहायक निरीक्षक (प्र.स.नि.) को कमान्डमा एक टोली घटनास्थलतर्फ खटिएको थियो।

प्रहरी टोलीले घाइतेहरूलाई उद्धार गरी उपचारका लागि प्रादेशिक अस्पताल मलंगवातर्फ पठाएको छ। घाइते हुनेहरूमा ६५ वर्षीया सायदा खातुन, ६ वर्षीया सविवा खातुन, ८ वर्षीय डिल्लु मन्सुर र ९ वर्षीया नर्गिस खातुन रहेका छन्। उनीहरूको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

घटनास्थल प्रहरी चौकी हरिपुर्वाबाट करिब २.५ किलोमिटर पूर्व पर्छ। घटनाको थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट प्रहरी निरीक्षक बालिस्टर सिंहको कमान्डमा ११ जनाको टोली पनि खटिएको छ।

घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *