काठमाडौं । लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा सुरु भएको आन्दोलनले ठूला दलका नेताहरुको निजी घरलाई ठूलो क्षति पुर्याएको छ। आन्दोलनकारीहरूले रुपन्देही, अर्घाखाँची, कपिलवस्तु, पश्चिम नवलपरासी, दाङ, बाँके र बर्दियासहितका जिल्लामा कांग्रेस, एमाले, माओवादी र अन्य दलका नेताहरुको घरमा तोडफोड र आगजनी गरेका छन्। घर ध्वस्त भएपछि धेरै नेताहरु दशैं नजिकिँदै गर्दा आफन्त र छिमेकीको घरमा आश्रित हुन पुगेका छन्।
पूर्वमुख्यमन्त्री लिला गिरीको रुपन्देहीस्थित घर पूर्णरूपमा ध्वस्त भएपछि उनी परिवारसहित बुटवलमा आफन्तकहाँ बसेका छन्। त्यसैगरी पूर्वगृहमन्त्री बालकृष्ण खाँड र उनका दाजुभाइको घरमा सिलिण्डर पड्काएर क्षति पु¥याइएको छ भने भूमिश्वर ढकाल, फणेन्द्र शर्मा, चित्रबहादुर कार्की लगायतका नेताका घरमा पनि आगजनी भएको छ। यी नेताका परिवार अहिले अस्थायी आश्रयमा बसिरहेका छन्।
अर्घाखाँचीमा मुख्यमन्त्री चेतनारायण आचार्यको घरमा पनि आगजनी र तोडफोड हुँदा श्रीमती आफन्तकहाँ आश्रित बनेकी छन्। पूर्वमुख्यमन्त्री डिल्लीबहादुर चौधरी र कांग्रेस नेता गेहेन्द्र गिरीको घर दाङमा क्षतिग्रस्त भएको छ भने कपिलवस्तुमा दीपकुमार उपाध्याय, चक्रपाणि खनाल, विमला घिमिरे, बलराम अधिकारी लगायतका नेताहरुको घरमा क्षति पुगेको छ।
त्यस्तै, पश्चिम नवलपरासीमा मेयर, सांसद र मन्त्रीस्तरसम्मका नेताहरुको घरमा क्षति पुगेको छ। दाङमा एमाले महासचिव शंकर पोखरेल, कोमल वली, हीराचन्द्र केसी लगायतका नेताको घर र व्यवसायमा तोडफोड गरिएको छ। बर्दियामा कांग्रेस नेता तथा पूर्वसांसद सञ्जयकुमार गौतमको घर जलेको छ भने बाँकेको कोहलपुर नगरपालिकाका मेयरको घरमा पनि आगजनी भएको छ।
स्थानीय प्रशासनले घरमा क्षति भए पनि अहिले सुरक्षाको ठूलो त्रास नरहेको दाबी गरेको छ। तर, नेताहरु अझै आफन्त र छिमेकीकहाँ आश्रित छन् भने केहीले दशैंअघि घर मर्मत गरेर फर्किने तयारी थालेका छन्। आन्दोलनले लुम्बिनी प्रदेशमा राजनीतिक नेतृत्व मात्र नभई सर्वसाधारण परिवारलाई समेत प्रत्यक्ष असर गरेको देखिएको छ।


