मकवानपुर पहिरोमा ज्यान गुमाएका आदित्यको स्मृतिमा फुटबल प्रतियोगिता हुने

लालबन्दी । एक वर्षअघि मकवानपुरमा पहिरोमा परेर ज्यान गुमाएका युवा फुटबल खेलाडी आदित्य बलम्पाकी मगरको स्मृतिमा सर्लाहीको लालबन्दी नगरपालिका–१७ रानीगन्जमा जिल्लास्तरीय २० वर्षमुनिको फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

प्रतियोगिता असोज १ गतेदेखि सुरु हुनेछ । महाकाली युवा क्लब रानीगन्जले आयोजना गर्न लागेको यस प्रतियोगिताको मुख्य उद्देश्य आदित्यको सम्झनालाई चिरस्थायी बनाउनु र जिल्लाका युवा खेलाडीहरूलाई प्रोत्साहन गर्नु रहेको छ ।

गत वर्ष असोज १२ गते मकवानपुरको सिस्नेरीस्थित अखिल नेपाल फुटबल संघ एन्फाको एकेडेमीमा आएको पहिरोमा परी रानीगन्जका आदित्यसहित छ जना युवा फुटबल खेलाडीको दुःखद निधन भएको थियो ।

सो घटनामा राज्यतर्फबाट गम्भीर लापरवाही भएको र अनुमति नै नभएको ठाउँमा प्रशिक्षार्थी खेलाडीहरूलाई राखिएको भन्दै सर्लाहीलगायत देशभर व्यापक विरोध प्रदर्शन भएको थियो ।

उनै आदित्यको सम्झनामा हुन लागेको प्रतियोगिताको तयारी अघि बढाइएको महाकाली युवा क्लबका अध्यक्ष निरञ्जन कार्कीका अनुसार, प्रतियोगिताको विजेताले ५१ हजार रुपैयाँ र उपविजेताले २५ हजार रुपियाँ नगद पुरस्कार प्राप्त गर्नेछन् ।

प्रतियोगिता आयोजना गर्नेबारे हालै निर्णय भएकाले अब छिट्टै सहभागी टिम दर्ताका लागि आह्वान गरिने कार्कीले बताए । यस प्रतियोगिताले आदित्यको स्मृतिलाई ताजा राख्दै युवा प्रतिभाहरूलाई आफ्नो खेल प्रदर्शन गर्ने अवसर प्रदान गर्ने उनले अपेक्षा राखिएको पनि बताए ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *