चन्द्रनगर : सर्लाहीको चन्द्रनगर गाउँपालिका–१, फरिद टोलमा आज बिहान एक विद्यालय बस पल्टिँदा पाँच जना विद्यार्थीसहित चालक घाइते भएका छन्।
ईश्वरपुर नगरपालिकाको बयलवासमा अवस्थित माउन्ट कञ्चनजंघा बोर्डिङ स्कुलको ना. ५ ख. ७३७३ नम्बरको बस दुर्घटना भएको हो । बस गाउँबाट विद्यार्थी लिएर विद्यालयतर्फ जाँदै गर्दा अनियन्त्रित भई सडक छेउको धान खेतमा पल्टिएको इलाका प्रहरी कार्यालय केशरगन्जले जानकारी दिएको छ।
दुर्घटनामा बस चालक ३२ वर्षीय रामकरण महतोसहित सात वर्षीया सृष्टी साह, १० वर्षीय सोनुकुमार महतो, सात वर्षीया सनीकुमार महतो, नौ वर्षीया सोनमकुमारी महतो र १३ वर्षीया उषा महतो घाइते भएका छन्।
सबै घाइतेहरूको अवस्था सामान्य रहेको र उनीहरूको उपचार हाल लालबन्दीस्थित मोडेल अस्पतालमा भइरहेको प्रहरीले जनाएको छ।


