काठमाडौं । नेपाल आयल निगमले बुधबार बिहान (असार ३२) देखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य घटाएको छ। पछिल्लो मूल्य समायोजनले उपभोक्तालाई केही राहत मिल्ने भएको छ।
नयाँ मूल्यअनुसार पेट्रोलको मूल्य प्रतिलिटर ५ रुपैयाँले घटाइएको छ। काठमाडौं, पोखरा र दिपायलमा अब पेट्रोल १५७.५० रुपैयाँ प्रतिलिटर पर्नेछ। यो मूल्य देशभर समान रुपमा लागू हुनेछ।
डिजेल र मट्टीतेलको मूल्य भने प्रति लिटर १ रुपैयाँले मात्र घटाइएको छ। अब यी इन्धनका दर काठमाडौं, पोखरा र दिपायलमा १४५.५० रुपैयाँ प्रतिलिटर रहनेछन्।
नेपाल आयल निगमले मूल्य घटाउने निर्णय भारतीय आयल कर्पोरेशन (IOC) बाट आयात मूल्य घटेर आएकोले गरेको जनाएको छ। भारतमा मूल्य घटेपछि त्यसको प्रभाव नेपालमा पनि परेको हो।
इन्धनको मूल्य घट्दा सार्वजनिक यातायातदेखि कृषिकर्मसम्ममा राहत मिल्ने अपेक्षा गरिन्छ। तर मूल्य घट्दा पनि भाडा नघटाउने समस्या विगतमा देखिएकाले सरकार रउपभोक्ता अधिकारकर्मीहरूले मूल्य समायोजनको प्रभावकारी निगरानी गर्नुपर्ने देखिन्छ।


