कांग्रेस नेता केदारनरसिंह केसीद्वारा सरकारी जग्गा कब्जाको आरोप अस्वीकार

कांग्रेस नेता केदारनरसिंह केसीद्वारा सरकारी जग्गा कब्जाको आरोप अस्वीकार

काठमाडौँ, चैत २ गते : नेपाली कांग्रेसका नेता डा. केदारनरसिंह केसीले सरकारी जग्गा कब्जा गरेको भन्ने आरोपलाई खण्डन गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूलाई प्रमाणित गर्न चुनौती दिएका छन्। पत्रकार सम्मेलनमार्फत उनले आफूविरुद्ध राजनीतिक प्रतिशोध साँधिएको आरोप लगाउँदै कानुनी लडाइँ लड्ने चेतावनी दिएका छन्।

उनले फागुन २८ गतेको प्रतिनिधिसभा बैठकमा सांसद शिशिर खनाल र सुमना श्रेष्ठले तारकेश्वर नगरपालिका-९, मनमैजुस्थित सरकारी जग्गा कांग्रेस नेताले कब्जा गरेको आरोप लगाएको विषयप्रति गम्भीर ध्यानाकर्षण भएको बताए। आधार र प्रमाणबिनै भ्रमपूर्ण प्रचार गरिएको भन्दै उनले यो आरोप बदनियतपूर्ण भएको दाबी गरे।

मालपोत कार्यालय मनमैजुको आधिकारिक पत्रअनुसार, कित्ता नम्बर ६३ को जग्गा नेपाल सरकारको नाममा रहेको र कित्ता नम्बर ६२ उनको निजी स्वामित्वमा रहेको पुष्टि भइसकेको उनको भनाइ छ। उनले स्थानीय जनप्रतिनिधिहरूको रोहबरमा २०५५/५६ सालमै उक्त क्षेत्रमा पर्खाल लगाइएको उल्लेख गर्दै, कानुन विपरीत कुनै काम नगरेको दाबी गरे।

तारकेश्वर नगरपालिकाका मेयर कृष्णहरि महर्जनले पनि सांसदहरूले विषय नै नबुझी आरोप लगाएको बताए। उनले सार्वजनिक सम्पत्तिको रक्षा गर्न आफू प्रतिबद्ध रहेको र विवाद समाधानका लागि पुनः नापजाँच गरिने जानकारी दिए।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *