काठमाडौं – नेकपा एमालेका महासचिव शंकर पोखरेलले माओवादी नेता वर्षमान पुनको ‘अध्यादेश सहयोग’ खोज्दै फोन गरेको’ दाबी अस्वीकार गरेका छन्। पोखरेलले सामाजिक सञ्जालमार्फत पुनले अनौपचारिक कुराकानीलाई प्रचारबाजीको विषय बनाएको आरोप लगाउँदै यस्तो कार्यले उनको पार्टीलाई नै नोक्सान पुग्ने चेतावनी दिएका छन्।
पोखरेलका अनुसार, यदि अध्यादेशबारे सहयोग माग्नुपर्ने अवस्था आएको भए, उनी सिधै माओवादी अध्यक्ष पुष्पकमल दाहालमार्फत पहल गर्ने थिए। उनले पुनसँग भएको कुराकानीको वास्तविकता समाचारमा आएका दाबीभन्दा फरक रहेको उल्लेख गरेका छन्।
यसअघि, माओवादी नेता वर्षमान पुनले गुल्मीको एक कार्यक्रममा पोखरेलले आफूलाई फोन गरी अध्यादेश पारित गर्न सहयोग मागेको बताएका थिए। तर, पोखरेलले यस्तो कुनै आग्रह नगरेको र पुनको दाबी भ्रामक भएको प्रष्ट पारेका छन्।