२५ माघ, काठमाडौं । नेपाल नेशनल अस्पतालले मिर्गौला रोगीहरूका लागि अत्याधुनिक डायलासिस सेवा सुरु गरेको छ। शुक्रबार आयोजित एक विशेष समारोहका बीच उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उक्त सेवाको औपचारिक शुभारम्भ गरेका हुन्।
डायलासिस सेवाको उद्घाटन गर्दै उपप्रधानमन्त्री पौडेलले अस्वस्थ जीवनशैली, प्रदूषण, तथा खानपानको लापरबाहीका कारण नेपालमा मिर्गौला रोगीहरूको संख्या तीव्र रूपमा वृद्धि भइरहेको बताए। उनले यसले समग्र स्वास्थ्य प्रणालीमा चुनौती थपिएको उल्लेख गरे।
यसै सन्दर्भमा, नेपाल नेशनल अस्पतालले डायलासिस सेवा सुरु गर्नु स्वास्थ्य क्षेत्रका लागि सकारात्मक कदम भएको पौडेलको भनाइ छ। उनले सरकारले स्वास्थ्य सेवाको पहुँच विस्तारका लागि विभिन्न प्रयासहरू गरिरहेको बताउँदै निजी क्षेत्रको सहभागिता अझ सशक्त बनाउन आवश्यक रहेकोमा जोड दिए।