क्याथे प्यासिफिकको उडानमा यात्रुलाई विषाक्त खाना, ४३ जना बिरामी

क्याथे प्यासिफिकको उडानमा यात्रुलाई विषाक्त खाना, ४३ जना बिरामी

२५ माघ, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हङकङतर्फ उडान भरेका क्याथे प्यासिफिक एयरलाइन्सका यात्रुहरूलाई विषाक्त खाना खुवाइएकै कारण ४३ जना यात्रु बिरामी परेको अध्ययनबाट खुलेको छ।

गत पुस २४ र २५ गते काठमाडौं–हङकङ उडानका क्रममा पहिलो दिन १० जना र दोस्रो दिन १८ जना यात्रुमा खाद्य विषाक्तताको लक्षण देखिएपछि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले छानबिन अघि बढाएको थियो। विभागले पुस २८ गते महानिर्देशक संजीवकुमार कर्णको अध्यक्षतामा बैठक डाँगी चार सदस्यीय छानबिन कार्यदल गठन गरेको थियो।

छानबिनबाट क्याथे प्यासिफिक खानपान सेवा (एचके) लिमिटेड र हङकङ अन्तर्राष्ट्रिय विमानस्थल रोड पूर्वस्थित ११ क्याटरिङ कान्टाउले तयार गरेको खानामा विषाक्त पदार्थ भेटिएको निष्कर्ष निकालिएको छ। उडान कम्पनीले प्रारम्भिक रिपोर्टमा २८ जना यात्रु बिरामी परेको तथ्य सार्वजनिक गरेको भए पनि अध्ययन कार्यदलको विस्तृत अनुसन्धानले वास्तविक संख्या ४३ रहेको पुष्टि गरेको छ।

हङकङको डिपार्टमेन्ट अफ हेल्थ मातहतको सेन्टर फर हेल्थ प्रोटेक्सन (CHP) ले पनि यात्रुलाई खुवाइएको खानामै विषाक्तता रहेको निष्कर्ष निकालेको छ। अध्ययन कार्यदलले खानाको उत्पादन मिति, मेनु, भण्डारण तापक्रम, उत्पादन गुणस्तर प्रमाणपत्र, यात्रुलाई परोसेको अवस्थालगायत सम्पूर्ण पक्षको विस्तृत परीक्षण गरेको थियो।

वरिष्ठ खाद्य अनुसन्धान अधिकृत सुमन धितालका अनुसार अध्ययनले क्याथे प्यासिफिक एयरलाइन्सले यात्रुहरूलाई विषाक्त खाना खुवाएको पुष्टि गरेको छ। आगामी दिनमा यस्ता घटनाको रोकथामका लागि थप नियमन र गुणस्तर जाँच कडा पार्ने तयारी विभागले गरिरहेको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *