काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालले सशस्त्र प्रहरी दिवसको सन्दर्भमा साताव्यापी सचेतनामूलक कार्यक्रमको आयोजना गरी सीमा सुरक्षा, लागुऔषध नियन्त्रण, र समुदाय विकासलाई प्रोत्साहित गर्ने विभिन्न गतिविधिहरू सम्पन्न गरेको छ।
कार्यक्रमको मुख्य उद्देश्य ‘नशारहित युवा–हाम्रो देशका कर्णधार, सीमानाको रक्षा–राष्ट्र निर्माणको आधार’ भन्ने नाराका साथ युवाहरूलाई लागुऔषधको दुष्प्रभावबारे जागरूक बनाउनु हो। सशस्त्र प्रहरीका प्रवक्ता नायब महानिरीक्षक कुमार न्यौपानेका अनुसार, देशभरका सीमा क्षेत्रमा ३६१ सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको छ।
कार्यक्रमअन्तर्गत सशस्त्र प्रहरी बलका इकाइहरूले स्थानीय विद्यालयमा २६२ स्थानमा जनचेतनामूलक प्रशिक्षण दिएका छन्, जसमा १२,३६८ जना विद्यार्थी सहभागी भएका छन्। लागुऔषध दुर्व्यसनसम्बन्धी २१ स्थानमा सडक नाटक प्रदर्शन गरिएको छ भने विद्यालय तथा क्लबहरूमा ‘लागुऔषध, सीमा सुरक्षा र युवा’ विषयमा निबन्ध लेखन र वक्तृत्वकला प्रतियोगिता आयोजना गरिएको छ। साथै, नेपाल–भारत कानुनी व्यवस्थालाई उजागर गर्दै सीमा क्षेत्रमा २१३ होर्डिङ बोर्ड पनि राखिएको छ।
सशस्त्र प्रहरी बलले सीमा इलाकामा भारतीय समकक्षीसँग लागुऔषध नियन्त्रणका विषयमा ५१ समन्वयात्मक बैठकहरू आयोजना गरेको छ। यसबाहेक, सीमा क्षेत्रमा लागुऔषध प्रयोग र नियन्त्रणसम्बन्धी गतिविधिहरूको अभिलेख राख्ने काम पनि थालिएको छ।
कार्यक्रमको अन्य पहलमा सामुदायिक विकास र क्षमता अभिवृद्धि, स्वास्थ्य, पर्यावरण संरक्षण, महिला सशक्तीकरण, र हरियाली अभियानअन्तर्गत विभिन्न गतिविधि सम्पन्न भएका छन्।
- सामुदायिक विकास: १३ चौतारा, १३ प्रतीक्षालय, ७ सार्वजनिक शौचालय, र १८ खानेपानीका धाराहरू निर्माण।
- स्वास्थ्य सेवा: १० स्वास्थ्य शिविर र ३० रक्तदान कार्यक्रम।
- पर्यावरण संरक्षण: १९८ स्थानमा सरसफाइ र ३४ स्थानमा वृक्षारोपण।
- महिला सशक्तीकरण: ११ स्थानमा आत्मरक्षा तालिम।
सशस्त्र प्रहरी बलद्वारा आयोजित यी कार्यक्रमले समुदायमा सकारात्मक प्रभाव पार्दै, युवा तथा स्थानियहरूको चेतना अभिवृद्धि र सामाजिक विकासमा योगदान गरेको छ।