काठमाडौं : भारतको सबैभन्दा ठूलो सौर्य ऊर्जा कम्पनी प्रोजिल ग्रिन इनर्जीले नेपालमा गोल्यान पावरसँग सहकार्य गर्दै नवीकरणीय ऊर्जा क्षेत्रमा काम गर्ने घोषणा गरेको छ। बुधबार काठमाडौंमा आयोजना गरिएको शिखर सम्मेलनमार्फत औपचारिक रूपमा यो परियोजनाको सुरुआत गरिएको हो। प्रोजिल ग्रिन इनर्जी नेपालले आगामी २४ महिनाभित्र ५०० मेगावाटभन्दा बढी सौर्य ऊर्जा परियोजनाहरू स्थापना गर्ने महत्वाकांक्षी योजना अघि सारेको छ।
यस परियोजनाको उद्देश्य नेपाललाई स्वच्छ र नवीकरणीय ऊर्जा क्षेत्रमा अग्रणी बनाउँदै मुलुकको ऊर्जा क्षेत्रमा रूपान्तरण ल्याउनु हो। गोल्यान ग्रुपका अध्यक्ष अक्षय गोल्यानले प्रोजिल ग्रिन इनर्जी नेपालले नेपाल विद्युत् प्राधिकरणको ९६० मेगावाट सौर्य उत्पादनका लागि पीपीए सम्झौताअनुसार प्राविधिक पार्टनरको रूपमा काम गर्ने बताए। यसबाहेक, प्रोजिलले उद्योगहरूका लागि सौर्य ऊर्जा परियोजना निर्माण गर्ने लक्ष्य राखेको छ, जसअन्तर्गत रिलायन्स स्पिनिङ मिल्सका लागि ९ मेगावाट सौर्य ऊर्जा उत्पादनको तयारी भइसकेको छ।
सौर्य ऊर्जा प्रणालीलाई विस्तार गर्दै रुफटप सोलार र जमिनमा माउन्ट गरिएका फोटोभोल्टेइक प्लान्टहरू निर्माण गर्ने योजना अघि सारिएको छ। यसले नेपालमा सौर्य ऊर्जाको प्रयोगलाई व्यापक बनाउने र देशको ऊर्जा क्षमतामा उल्लेखनीय योगदान पुर्याउने अपेक्षा गरिएको छ।
प्रोजिल ग्रिन इनर्जी नेपालका सञ्चालक प्रवीण अर्यालले यो साझेदारीले नेपालमा नवीकरणीय ऊर्जा र दिगोपनका लागि प्रतिबद्धतालाई उजागर गरेको बताए। उनले प्रोजिलसँगको सहकार्यले नेपालको ऊर्जा माग पूर्ति गर्न र आर्थिक वृद्धिलाई सहज बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने बताए।

तर, सौर्य ऊर्जाको प्रवर्द्धन गर्न आवश्यक स्पष्ट नीति र सरकारको विधेयकमा समेटिनुपर्ने प्रावधानहरूको अभावप्रति स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) का अध्यक्ष गणेश कार्कीले असन्तुष्टि व्यक्त गरे। उनले सरकारले निजी क्षेत्रलाई अनुकूल वातावरण प्रदान गर्न सकेमा वर्षमा १ हजार मेगावाट ऊर्जा उत्पादन गर्न सकिने र बिजुली आयातमा निर्भरता घट्ने बताएका छन्।
यस परियोजनाले नेपालमा स्वच्छ ऊर्जा प्रयोगलाई तीव्रता दिने र आर्थिक तथा वातावरणीय दृष्टिकोणले नेपाललाई दीर्घकालीन फाइदा पुर्याउने विश्वास गरिएको छ।