दमौली, तनहुँ: नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का महासचिव देवप्रसाद गुरुङले दुई दलीय अभ्यासको धारणा माओवादी केन्द्रलाई स्वीकार्य नहुने बताएका छन्।
तमु राष्ट्रिय मुक्ति मोर्चाको केन्द्रीय समितिको विस्तारित बैठकलाई सम्बोधन गर्दै उनले संविधान संशोधनको नाममा सीमित दललाई मात्र मान्यता दिने कुनै पनि प्रयासलाई अस्वीकार गर्ने स्पष्ट पारे। गुरुङले भने, “हामी दुई दलीय संरचनाको अभ्यासलाई स्वीकार्दैनौं। यसप्रकारको कार्य कुनै पनि हालतमा मान्य हुँदैन।”
महासचिव गुरुङले पार्टीप्रतिको जनआकर्षण उपनिर्वाचनबाट बढेको प्रमाणित भएको उल्लेख गर्दै त्यसलाई थप सुदृढ बनाउन क्रियाशील रहनुपर्नेमा जोड दिए। “माओवादी सकियो भन्ने भ्रम फैलाउन खोजिएको थियो, तर जनताले त्यो गलत प्रमाणित गरिदिएका छन्। अब नेता तथा कार्यकर्ता पार्टीलाई बलियो बनाउन सक्रिय हुनुपर्छ,” उनले भने।
बैठकले आगामी फागुन १० गते पोखरामा तमु राष्ट्रिय मुक्ति मोर्चाको राष्ट्रिय भेला आयोजना गर्ने निर्णय गरेको नेता मनराज गुरुङले जानकारी दिए।