काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले युवाहरूलाई विदेश पलायनबाट रोक्न एसियाली मुलुकहरूबीच सहकार्यको खाँचो रहेको औँल्याएका छन्।
काठमाडौँमा सुरु छैटौँ एसियाली जनसंख्या सम्मेलनलाई सम्बोधन गर्दै उनले नेपालजस्ता देशहरूमा ठूलो संख्यामा युवा जनसंख्या अवसरको खोजीमा विदेश पलायन भइरहेको बताए।
देउवाले भने, ‘हामी एक्लैले मात्र युवाहरूको ऊर्जा, उत्पादनशीलता र उद्यमशीलतालाई सही रूपमा व्यवस्थापन गर्नसक्ने अवस्थामा छैनौँ। त्यसैले एसियाली मुलुकहरूको सहकार्य आवश्यक छ।’
साथै, उनले बालविवाह, पोषण, शिक्षा, जलवायु परिवर्तनजस्ता सामाजिक र वातावरणीय मुद्दाहरूले भविष्यलाई थप चुनौती दिएको बताए। यस सम्मेलनले यी समस्याको समाधानका लागि ठोस मार्गनिर्देशन दिन सक्ने विश्वास उनले व्यक्त गरे।