काठमाडौँः ऊर्जा तथा सिँचाइमन्त्रीद्वारा ऊर्जा, जलस्रोत र सिँचाइ क्षेत्रको विकासका लागि पूर्वसचिवहरूसँग छलफल गर्नुभएको छ ।
उर्जामन्त्री खड्काले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको विद्यमान अवस्था र भावी कार्ययोजनाबारे मन्त्रालयका पूर्वसचिवसँग बुधबार छलफल गर्नुभएको हो ।
छलफलका क्रममा मन्त्री खड्काले पूर्वसचिवको अनुभवलाई समेटेर भावी कार्ययोजना बनाएर अगाडि बढ्ने बताउनुभयो । “तपाईँहरूले नेपालको ऊर्जा, जलस्रोत र सिँचाइ क्षेत्रमा काम गरेर अनुभव हासिल गर्नुभएको छ, यहाँहरूको अनुभवले मन्त्रालयलाई भावी कार्ययोजना निर्माणमा सहयोग पुग्नेछ”, उहाँले भन्नुभयो ।
मन्त्री खड्काले ऊर्जा र सिँचाइ क्षेत्रको विकासका लागि अप्ठ्यारा ऐन, नियम, कार्यविधि र नियमावलीलाई संशोधन गरेर अगाडि बढ्ने बताउनुभयो ।
उक्त मन्त्रालयका पूर्वसचिव दिनेश घिमिरेले आन्तरिक खपत बढाउने गरी ऊर्जा क्षेत्रको विकास गर्नुपर्ने बताउनुभयो । उहाँले जलाशययुक्त आयोजनामा लगानी जुटाउन सके छोटो समयमा नेपालको ऊर्जा क्षेत्रले फड्को मार्ने उल्लेख गर्नुभयो ।
पूर्वसचिव अनुप उपाध्यायले ऊर्जा क्षेत्रको विकासका लागि लगानीयोग्य वातावरण निर्माण गर्नुपर्ने बताउनुभयो । उहाँले जति चाँडो आयोजना निर्माण गर्नसक्यो त्यति नै मुलुकका लागि फाइदा हुने बताउनुभयो ।
पूर्वसचिव सुशीलचन्द्र तिवारीले सरकारले सिँचाइ क्षेत्रलाई विशेष प्राथमिकता दिनुपर्ने बताउनुभयो । सातवटा राष्ट्रिय गौरवका आयोजना भएको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले उक्त आयोजनालाई चाँडोभन्दा चाँडो पूरा गर्न लाग्नुपर्ने बताउनुभयो । पूर्वसचिव सागरकुमार राईले जलस्रोत संरक्षणलाई मन्त्रालयले प्राथमिकतामा राख्नुपर्ने बताउनुभयो । उहाँले खर्बौँ लगानी गरेर सिँचाइ आयोजना बनाए पनि सिँचाइवापतको सेवा शुल्क नउठाउँदा उक्त आयोजना मर्मतसम्भारमा समस्या हुने गरेको बताउनुभयो ।
छलफलमा ऊर्जा तथा सिँचाइमन्त्रीद्वारा ऊर्जा क्षेत्रको विकासका लागि पूर्वसचिव गोपालप्रसाद सिग्देल, जलस्रोत तथा सिँचाइसचिव सरिता दवाडी, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, मन्त्रालयअन्तर्गतका विभिन्न विभागका महानिर्देशक तथा मन्त्रालयका सहसचिवहरूको सहभागिता थियो ।