अमेरिकाले लामिछानेलाई भिसा नदिएकोमा ज्ञानेन्द्र शाहीद्वारा संसदमा विरोध

लामिछानेलाई अमेरिकाले भिसा नदिएकोमा ज्ञानेन्द्र शाहीद्वारा संसदमा विरोध

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले क्रिकेटर सन्दीप लामिछानेलाई अमेरिकाले भिसा नदिएकोमा संसदमा विरोध जनाएका छन् । आइतबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै शाहीले अमेरिकाले सन्दीपलाई भिसा नदिनु भनेको देशकै अपमान भएको बताए ।

उनले भने, ‘सन्दिप लामिछानेलाई भिसा नदिनु भनेको सन्दीप र नेपाली नागरिकको मात्र होइन यो सिंगो नेपालकै अपमान हो ।’ उनले भने, ‘उच्च अदालतले निर्दोष घोषणा गरेको मान्छेलाई भिसा लाग्दैन ! एक देशले अर्को देशको अस्तित्व स्वीकार गर्ने भनेको छ । के आज हाम्रो सम्बन्ध स्थापित भयो ? एउटा राष्ट्रिय खेलाडीलाई भिसा दिइएन !

यही जुनमा अमेरिका र वेस्ट इन्डिजमा हुने टी–२० विश्वकप क्रिकेट प्रतियोगिता खेल्न तयार सन्दीप लामिछानेको भिसा अमेरिकाले दोस्रो पटक पनि रिजेक्ट गरिदिएको थियो । बिहीबार अपराह्न ४ बजे अन्तरवार्ताका लागि महाराजगन्जमा बोलाइएका सन्दीपलाई एक महिनाभित्र दोस्रो पटक अमेरिकी दूतावासले भिसा दिन नमानेको हो । लामिछानेलाई अमेरिकाले भिसा नदिएकोमा आज ज्ञानेन्द्र शाहीले संसदमा विरोध गरेका हुन् ।

यसअघि जेठ ९ मा दूतावासले सन्दीपलाई भिसा दिन मानेको थिएन । पहिलो पटक भिसा दिन नमानेपछि सरकारको उच्च तहबाट अमेरिकी दूतावासमा पहल गरिएको थियो । तर दूतावासले कुनै कारण नखुलाई दोस्रो पटक पनि सन्दीपको नाममा भिसा जारी गर्न नमानेको हो । सन्दीपलाई भिसाका लागि युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठ र परराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठले समेत पहल गरेका थिए ।

श्रेष्ठले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाईसमेत आग्रह गरेर दूतावासमा अनुरोध गरिदिन भनेका थिए । खेलकुद मन्त्री श्रेष्ठका अनुसार सरकारले सन्दीपको भिसाका लागि ‘भिसा नोट’समेत सरकारले अमेरिकी दूतावासमा पठाएको थियो। तर सन्दीपले भिसा पाएनन् ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *