नागरिकतासम्बन्धी मुद्दामा प्रहरी हिरासतमा रहेका कान्तिपुर मिडिया समूहका अध्यक्ष कैलाश सिरोहियालाई जिल्ला अदालत धनुषाले पुन: थप तीन दिन थुनामा राख्न आदेश दिएको छ। धनुषा अदालतको बेन्च नम्बर ७ का न्यायाधीश यदुराज शर्माको इजलासले यस्तो आदेश गरेको हो। सरकारी वकिल कार्यालय धनुषाले सिरोहियालाई थप पाँच दिन थुनामा राखी मुद्दा अनुसन्धान गर्ने समय मागेको थियो।
गत मंगलबार काठमाडौंस्थित कान्तिपुरको केन्द्रीय कार्यालयबाट पक्राउ परेका सिरोहियालाई बुधबार अदालतमा हाजिर गराइएको थियो। बुधबार र शुक्रबार गरी दुई पटक भएको पेशिमा ३/३ दिनको म्याद थप गरेर थुनामा राख्न अनुमाति दिइएको थियो।
गत शुक्रबार म्याद पश्चात सिरोहियाको मुटुको चालमा गडबडी र उच्चरक्तचाप देखिएपछि जनकपुरको काव्या अस्पतालमा भर्ना गरिएको थियो। सिरोहियाको स्वास्थ्य अवस्था अस्थिर रहेकाले अस्पतालमा नै उनको उपचार भइरहेको छ।
सिरोहियामाथि नागरिकतासम्बन्धी मुद्दामा अनुसन्धान भइरहेको र थप समय आवश्यक भएको भन्दै सरकारी वकिल कार्यालयले थुनामा राख्न माग गरेको हो। अदालतले यसलाई स्वीकार गर्दै थप तीन दिनको थुनामा राख्न आदेश दिएको छ।


