काठमाडौं । युरोप भ्रमणमा रहेकी मिथिला चित्रकार रन्जु यादवको अर्को एकल मिथिला चित्रकला प्रदर्शनी फिनल्याण्डमा आइतबार सम्पन्न भएको छ। गैरआवासीय नेपाली संघ (एनआएनए) फिनल्याण्डको आयोजनामा फिनल्याण्डको राजधानी हेलसिन्कीमा एक दिवसीय चित्रकला प्रदर्शनी सम्पन्न भएको हो।
चित्रकार यादवका ४० वटा मिथिला चित्र प्रदर्शनीमा राखिएका थिए, जसमा नेपाली समाज र संस्कृतिका विभिन्न पक्षको उजागर गरिएको थियो। जर्मनी, डेनमार्क र फिनल्याण्डमा आफ्नो मिथिला चित्रकला प्रदर्शन गर्न उनी गत वैशाख ६ गते ३३ दिनका लागि युरोप कला यात्रामा गएकी थिइन्।
यस यात्राको क्रममा, यादवले जर्मनीको फ्र्यान्कफर्ट र बर्लिन, डेनमार्कको कोपनहेगन र अन्तिममा फिनल्याण्डमा आफ्नो चित्रकला प्रदर्शनी गरिन्। विशेष गरी, डेनमार्कको कोपनहेगनमा आयोजित दुई दिवसीय प्रदर्शनीमा उनले करिब पचास जना नेपाली र भारतीय बालबालिकालाई मिथिला चित्र बनाउन सिकाएकी थिइन्।
राष्ट्रिय ललितकला पुरस्कारले सम्मानित चित्रकार यादवले युरोपका तीन देशमा एकल चित्रकला प्रदर्शनी सफलतापूर्वक सम्पन्न गरेपछि पाँच देशको भ्रमण सकेर जेठ ८ गते मंगलबार स्वदेश फर्किंदैछिन्।


