सत्तारूढ नेकपा एमालेको संसदीय दलको बैठक सुरु

सत्तारूढ नेकपा एमालेको संसदीय दलको बैठक सुरु भएको छ। 

नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा सुरु भएको बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले सरकारको नीति तथा कार्यक्रम, सदनमा जारी प्रतिपक्षको अवरोध र समसामयिक विषयमा मन्तव्य दिइरहेका छन्।   

बैठकमा सरकारको नीति तथा कार्यक्रम, आसन्न बजेट र एमालेको भूमिकाका विषयमा उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेल, महासचिव शंकर पोखरेल, पूर्वअर्थमन्त्री डा. युवराज खतिवडालगायतले प्रशिक्षणमूलक मन्तव्य दिने कार्यक्रम रहेको सो दलका प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए। 

राष्ट्रपति रामचन्द्र पौडेलद्वारा मंगलबार संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए। त्यसपछि सदनका बेग्लाबेग्लै बैठकमा प्रतिपक्षले अवरोध गरेका कारण राष्ट्रपति पौडेललाई धन्यवाद दिनेलगायतका कार्यसूची अघि बढ्न सकेको छैन। 

सहकारी अनियमितताका विषयमा संसदीय छानबिन समितिको माग गर्दै प्रमुख प्रतिपक्षी कांग्रेसले संसदमा अवरोध गर्दै आएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *