काठमाडौँ । पुस २५ गते वन तथा वातावरण मन्त्री डा. विरेन्द्र प्रसाद महतोको कार्यकक्ष तनावग्रस्त थियो । तनावको कारण दलबल र युट्युबर बोकेर मन्त्रीको कार्यकक्षमा धर्ना दिन पुगेका काँग्रेस सांसद दिपक खड्का थिए ।
खड्काको परिचय नेपाली काँग्रेसका नेता जत्तिकै व्यापारीका रूपमा समेत छ । उनले काठमाडौँको बुढानीलकण्ठमा पाँचतारे होटेल बनाइरहेका छन् । अनुमति नलिएरै (यस्ता परियोजनाको निर्माण शुरु गर्नुअघि वातावरणीय प्रभाव मूल्याङ्कन-इआईए प्रतिवेदन स्वीकृत भएको हुनुपर्छ) होटेल निर्माण अघि बढाएका उनी त्यही भेद खुलेपछि वन तथा वातावरण मन्त्रालय अन्तर्गतको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले कानुनी प्रक्रियालाई जोड दिएसँगै क्रुद्ध बनेका थिए । विभागले उनलाई इआईए गर्न लगाएको थियो । तर, इआईए प्रतिवेदन स्वीकृत हुन बाँकी थियो ।
छिटो इआईए स्वीकृत गराउनलाई दबाब दिन आफ्ना केही सहयोगी र युट्युबर बोकेर उनी वन तथा वातावरण मन्त्रालय पुगेका थिए ।


