सुनील र विकलको सिंगापुरको बैंक खातामा अमेरिकाबाट पैसा जम्मा 

सूचना प्रविधिको ठेक्कामा शृंखलाबद्ध भ्रष्टाचारको अभियोग खेपिरहेका सुनील पौडेल र विकल पौडेलले सरकारी पदमै रहँदा सिंगापुरको युनाइटेड ओभरसिज बैंकमा खाता खोली शंकास्पद कारोबार गरेको फेला परेको छ । दुवैले अमेरिका र सिंगापुरका कम्पनीबाट रेमिट्यान्सका रूपमा शंकास्पद कारोबार गरेका हुन् । 

उक्त पैसा भ्रष्टाचारसम्बन्धी लेनदेन भएको आशंका गरिएको छ । दुवैलाई अकुत सम्पत्ति आर्जनसम्बन्धी मुद्दामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार पक्राउ गरी थुनामा राखेर अनुसन्धान गरिरहेको छ । 

सुनीलको ३८०–९४८३१०८ नम्बरको खातामा २ जनवरी २०२२ मा ५८ हजार अमेरिकी डलर जम्मा भएको छ । जुन सिंगापुरकै ब्यानकोटेक नामक कम्पनीले स्ट्यान्डर्ड चार्टर्ड बैंक हुँदै उनको खातामा जम्मा गरेको छ । त्यस्तै, ६ डिसेम्बर २०२१ मा अमेरिकाको इन्स्टासेफ नामक कम्पनीले बैंक अफ अमेरिका हुँदै उनको खातामा ७७ हजार पाँच सय ४५ अमेरिकी डलर जम्मा गरेको छ । २ अगस्ट २०२१ मा अमेरिकाको इन्स्टासेफबाटै २४ हजार नौ सय ९५ र २५ अगस्ट २०२१ मा ४७ हजार सात सय ४५ डलर जम्मा भएको छ । यो रकम विभिन्न खरिसम्बन्धी कमिसनको भएको आशंका गरिएको छ । नेपाल टेलिकमका प्रबन्ध–निर्देशक रहेका वेला पौडेलविरुद्ध आयोगले नेसनल पेमेन्ट गेटवे खरिदमा भएको भ्रष्टाचारमा मुद्दा दायर गरेको थियो । 

थप शंकास्पद के छ भने दुवैको खातामा उही कम्पनीबाट रेमिट्यान्सका रूपमा डलर जम्मा भएको छ । सुरक्षण मुद्रण केन्द्रका निलम्बित कार्यकारी निर्देशक विकलको ३८०–९४७२०८४ नम्बरको खातामा अमेरिकाको इन्स्टासेफबाट २ अगस्ट २०२१ मा २४ हजार नौ सय ९५ डलर जम्मा भएको छ । २४ मार्च २०२१ मा ब्यानकोटेकले उनको खातामा रेमिट्यान्सका रूपमा ५० हजार अमेरिकी डलर जम्मा गरेको छ । 

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *