काठमाडौं : मुस्ताङका डेढ दर्जन सामुदायिक,संस्थागत र गुम्बा विद्यालय यतिखेर बेसींमा घुम्ती कक्षा सञ्चालनमा व्यस्त छन् । चीनको स्वशासित क्षेत्र तिब्बतसँग सीमाना जोडिएको लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकाका विद्यालय हिउँदयामको सम्भावित हिमपात र जाडो छल्न गण्डकी प्रदेशको राजधानी पोखरालगायतका स्थानमा झरेका हुन् ।
मुस्ताङका ५ स्थानीय तहका कूल ३४ सामुदायिक विद्यालयमध्ये उपल्लो मुस्ताङको लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकाअन्तर्गतका सामुदायिक,संस्थागत र गुम्बा विद्यालयहरू चालु शैक्षिक सत्रको मंसिर अगावै जाडो छल्न पारिलो स्थानमा स्थान्तरण गरिएको हो ।
यसैगरी वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको जननर्मल प्रस्तावित मावि,मुक्तिनमुना र लुप्रा आधारभूत विद्यालय पनि जाडो छल्न पोखरा झरेको बताइएको छ । तर,लोघेकर दामोदरकुण्ड -२ घमीको घमी आधारभूत र वारागुङ मुक्तिक्षेत्र—४ कागबेनीको जनशान्ति माविले विद्यालर्थीलाई पुस र माघ गरी दुई महिना हिउँदे बिदा दिएको छ ।
तल्लो मुस्ताङको घरपझोङ र थासाङ गाउँपालिका अन्तर्गतका पुरै विद्यालयलाई स्थानीय तहको निर्णय अनुसार हिउँदे बिदा दिएर विद्यालयको शैक्षिक पठन/पाठन बन्द गरिएको छ । उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिकाबाट दिव्यदीप मावि छोसेर, छोन्हुप जिन्जु आधारभूत र राष्ट्रिय आधारभूत विद्यालय लोमान्थाङ मंसिर अगावै घुम्ती कक्षाका लागि पोखरा झारिएको हो । उनीहरुलाई हिमाली छात्रावास सुविधा प्राप्त नगर्ने विद्यार्थीलाई प्रति विद्यार्थी दैनिक १२० रुपैयाँ गाउँपालिकाले दिने गरी घुम्ती कक्षा व्यवस्थापन गरिएको छ ।
विद्यालय व्यवस्थापन समितिको निर्णय बमोजिम बर्खायाममा साविक र हिउँदयाममा बेसीमा राखेर पठन/पाठन सञ्चालन गरिएको विद्यालय प्रधानाध्यापक वाङ्दी गुरुङले जानकारी दिए । हिउँदयाममा मौसम प्रतिकूलताका कारण यथास्थानमा राखेर विद्यार्थीलाई पढाउन नसकिने र साविकको स्थानमा पढाइ सञ्चालन गर्दा विद्यार्थीको स्वास्थ्यमा समेत समस्या हुने भएकाले बेसीमा घुम्ती कक्षा सञ्चालन गर्नु परेको प्रअ गुरुङको भनाइ छ ।


